• २०८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024

परराष्ट्रमन्त्री राणा १७ दिनपछि स्वदेश फिर्ता, भारतमा भएन भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १७ दिनपछि भारत हुँदै स्वदेश फर्किएकी छन् । चीन भ्रमणबाट फर्किए लगत्तै युरोप भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री राणा भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । भारतको नयाँ दिल्लीबाट नेपाल वायु सेवा निगमको जहाजमा उनी काठमाडौं ओर्लिन् ।

यसअघि उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका अधिकारीहरूको टोलीले बिदा गरेको थियो । अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि राणा मंसिर २२ मा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी थिइन् भने उतैबाट भारत गएकी थिइन् । 

उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

भारतमा उनले नेपाल–भारत आर्थिक सम्बन्ध विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी थिइन् । यस भ्रमणका दाैरानमा उनले भारतीय अधिकारीहरूसँग भेटेर प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भ्रमण तय गर्ने भनिएपनि भारतीय पक्षसँग भेट नभएकाे कतिपय स्राेतले दावी गरेका छन् । मन्त्री राणाकाे सचिवालयले पनि भारतमा सरकारी अधिकारीहसँग भेट भएकाे बताएकाे छैन । 

काठमाडौँ विश्वविद्यालयको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको एउटा गैरसरकारी संस्था फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा गत शुक्रबार उक्त सम्मेलन भएको थियो । सम्मेलनमा मन्त्री राणाले मुख्य वक्ताको रूपमा सम्बोधन गरेकी थिइन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणा लामो समयका लागि देशबाहिर गएकी थिइन् । 

प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए । परराष्ट्रमन्त्री राणा पनि भ्रमण टोलीमा थिइन् । चीनबाट फर्किएको पर्सीपल्टै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी थिइन् । 

यसअघि भदौ २ गते भारतको पाँच दिने औपचारिक भ्रमण गएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर