पोखरामा: हट एयर बेलुन फेस्टिभल आजबाट
पोखरा । पोखरामा आज (मंगलबार) बाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव (हट एयर बेलुन फेस्टिभल) सुरु हुँदैछ ।
पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वास साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो ।
नौं दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्याण्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।
महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्डका साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि हुनेछन् ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ । कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।
प्रतिकृया दिनुहोस