फरार भनिएकी पत्नीको जागिर जाेगाउन बिदा माग्दै लेखा समिति सभापति पोखरेलले दिए दबाब
विराटनगर । सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकाे भनिएकी अन्जला कोइरालाले पढाउने स्कुलमा बिदाका लागि उनका श्रीमान एमाले सांसदले पत्र पठाएका छन् ।
उनकी श्रीमती पेशाले शिक्षक हुन्। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका ऋषिकेश पाेखरेलकी पत्नी अन्जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहेकी उनले थप बिदा मागेकाे पत्र उनका सांसद पति पोखरेलले विद्यालयमा प्रेषित गरेका छन्।
विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले अन्जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताए।
मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अन्जलाको नाम जोडिएको थियो। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि उनीसहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतको पुर्जीपछि फरार अन्जलाले ५ दिनको बिदा माग्दै विद्यालयमा निवेदन पठाएकी थिइन्। शुक्रबार बिदा सकिएपछि नयाँ पत्र पति ऋषिकेशले पठाइदिएका हुन्। दिन नभनी मागिएको बिदामा विरामी बिदा पाउँ भन्ने उल्लेख छ।
सहकारी ठगी प्रकरणमा कोइरालासहित, रंगेली –२ का वडाध्यक्ष सन्तलाल खवास, अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत विरूद्ध मंसिर २७ मा मुद्दा दायर भएको थियो।
सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।
लेखा समिति सभापति पोखरेलले भने विद्यालयमा पत्र पठाएको बारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
उमा–गौरी सहकारी ठगीमा तत्कालीन सञ्चालक तथा पदाधिकारी अञ्जला कोइरालाका साथै रोशन राजवंशी, शम्भुप्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो. नसरुदिन, मनोजकुमार सोनी, यशोदाकुमारी राजवंशीलाई बिगोबमोजिम जरिवाना र कैदसजाय माग गरिएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा कात्तिक १४ मा सहकारी कार्यालयको ताला फोडेर प्रमाण संकलन गरेको थियो । त्यसयता कार्यालय बन्द छ । संसद्को सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा सांसदहरूले सभापति पोखरेलको राजीनामा माग गरेका थिए । तर पोखरेलले कानुनलाई सहयोग गर्ने बताउँदै विषयान्तर गरेका थिए ।
सहकारी ठगीमा श्रीमती फरार रहेको स्विकारेका पोखरेलले भनेका थिए, ‘मेरी श्रीमती फरार छिन्, कानुनी प्रक्रियाका लागि म तयार छु ।’ फरार श्रीमतीलाई विद्यालयमा बिदा मागसहितको पत्र पठाएपछि पोखरेलको भूमिकामाथि थप प्रश्न उठेको सहकारीपीडितको भनाइ छ । माओवादी कोशी संसदीय दलले पनि गत बिहीबार सभापति पोखरेलको राजीनामा माग गरेको थियो ।
प्रतिकृया दिनुहोस