अदालतमा रविको ३ घण्टा बयान, भन्छन्ः सहकारीको पैसा ल्याएको हैन, चेक काटेको हो
पोखरा । कास्की । सहकारीको रकम अपचलनमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान आजदेखि सुरु भएको छ ।
लामिछानेसँग आज न्यायाधीश नितिज राईले ३ घण्टा बयान लिनुभएको हो । हिजो देखि सुरु भएको लीला पछाईको बयान आज सकिएपछि लामिछानेको बयान सुरु गरिएको हो ।
न्यायाधीश राईसँग लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता इन्कार गर्नुभएको छ ।
अभियोगपत्रमा भनेजस्तो कुनै पनि कसूरमा आफ्नो संलग्नता नरहेको अदालत सामु दाबी गर्नुभएको हो । अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो ।
सहकारी ठगी, संगठनिक अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा आज उहाँको बयान नसकिएकाले भोलि पनि लिइने जनाइएको छ ।
यसअघि गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।
सरकारी वकील कार्यालयले जोशी, लामिछाने र लिला पछाईविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता गरेको छ । सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
प्रतिकृया दिनुहोस