• २०८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024

चन्द र शर्मा नजिकिएका हुन् ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै मञ्चमा सँगै पनि देखिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उपमहासचिव शर्माको दूरी बढिरहेका बेला चन्दसँग देखिएको निकटताले नेताहरूसमेत सशंकित छन् । 

शर्मा र चन्द सशस्त्र द्वन्द्वताकाका सहयात्री हुन् । उनीहरू २०७१ सम्म एउटै पार्टीमा थिए । चन्दले २०७१ मा माओवादी छाडेर नेपाल कम्युनिस्ट पार्टी खोलेपछि दुवै अलग भए । पछिल्लो समय भने दुवै नेताले एकता र सहकार्यमा जोड दिँदै आएका छन् ।

उनीहरूले बिहीबार एउटै मञ्चबाट चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको जन्मजयन्ती मनाए । माओवादी अध्यक्ष दाहालले भने विज्ञप्तिमार्फत माओ दिवसको शुभकामना दिएका थिए ।

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ देखि बस्दै छ । बैठकमा पार्टीको अन्तरसंघर्ष र आगामी कार्यक्रममाथि छलफल गर्ने तयारी छ । यसअघि स्थायी समिति बैठकमा शर्माले नेतृत्व हस्तान्तरण र मूल नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएपछि दुई नेताबीच दूरी बढेको छ । जबकि सशस्त्र द्वन्द्वदेखि नै शर्मा दाहालका विश्वासपात्र थिए । शर्माले बैठकमा आफूविरुद्ध लिखित धारणा राखेपछि दाहाल चिढिएका हुन् ।

शर्माले पार्टी नेतृत्वका विषयमा सार्वजनिक रूपमा पनि आलोचना गर्दै आएका छन् । माओ दिवसका अवसरमा बिहीबार प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा माओवादी उपमहासचिव शर्माले विगतमा सत्ताका लागि भएको गठबन्धन असैद्धान्तिक भएको र पार्टीले वर्गीय पक्षधरता भुलेको भनी टिप्पणी गरेका थिए ।

‘आज कम्युनिस्टको ताल हाँस न बकुल्लाको जस्तो छ । सत्ता छिनाझपटीमा मात्र लागिरहने हो कि जनजीविकाका समस्या लिएर अघि बढ्ने हो ?’ उनले भनेका थिए, ‘प्रतिस्पर्धामा जाँदा वर्ग जोडिदिने, असैद्धान्तिक गठबन्धन गर्ने, जित्नका लागि जे पनि गर्ने अवस्थाले कम्युनिस्ट आन्दोलनको साख गुमेको छ ।’

पार्टीभित्र आफूले सुरु गरेको वैचारिक बहसलाई नकारात्मक रूपमा लिएको संकेत गर्दै शर्माले फरक मतलाई सम्मान गर्नुपर्ने बताए । माओको ‘सयौं फूल फुल्न देऊ’ भन्ने भनाइको मर्मलाई कम्युनिस्ट पार्टीले अपनाउनुपर्ने उनले उल्लेख गरे ।

माओवादी शक्ति एकताका लागि आपसमा निरन्तर छलफल चलिरहेको शर्मा र चन्दको भनाइ छ । ‘दस वर्ष युद्धको मोर्चामा सँगै लडेका थियौं । चुनबाङ र थबाङका भेलामा एउटै थालमा भात खाएका थियौं,’ उनले भने, ‘हामी एकता गर्न चाहन्छौं भन्नेमा भ्रम छैन ।’

माओवादी अब एक हुने परिस्थिति बनेको र नयाँ ढंगले एकता गर्न छलफल भइरहेको नेकपा महासचिव चन्दको भनाइ छ । ‘अहिले फरक–फरक भए पनि हामी माओवादी हौं, माओवादी एक ठाउँमा आएर बहस गर्नुपर्छ,’ उनले भने ।

माओवादीका एक नेताले दाहालसँग दूरी बढिरहेका बेला शर्मा चन्दसँग नजिक हुनु संयोग मात्र नभएको बताए । ‘प्रचण्ड र जनार्दनबीच सुषुप्त तर गहिरो संघर्ष भइरहेका बेला भेटवार्ता बाक्लिनुले दुई नेता नजिकिएको राजनीतिक सन्देश दिन्छ,’ उनले भने ।
कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर