फोहोरी राजनीतिलाई सङ्ल्याउन कांग्रेस-एमालेको सरकार: प्रधानमन्त्री ओली
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको दाबी गरेका छन्।
आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा नेकपा एमाले पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले मधेसको विकास एमालेले नै गर्ने दाबी गरेका हुन्।
उनले भने, ‘देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार छ। मुलुकमा रहेका बेथिति, अस्थिरतालाई हटाउन यो सरकार बनेको हो।’
विगतमा एमाले नेतृत्वको सरकारले थालनी गरेर बीचमा पार्टी सरकारमा नहुँदा अधुरा र अलपत्र परेका विकास निर्माणका योजनाहरु अहिलेको सरकारले सम्पन्न गर्ने उनले बताए। उनले भने,‘विश्वास गर्नुस् मधेस र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ। एमालेकै नेतृत्वले गर्छ। अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले नै गर्छ। मधेस र देशको विकासको गति अब अगाडि बढिसक्यो, कसैले रोक्न सक्दैन।’
एमाले अध्यक्ष ओलीले देश बनाउने एक मात्रै पार्टी नेकपा एमाले मात्रै भएको दाबी गरे। उनले भने,‘देश बनाउने पार्टी एमाले नै हो। त्यसकारण अरु पार्टीमा रहेकाहरूलाई एमालेमा प्रवेश गर्न आह्वान गर्छु।’
एमालेले भन्दै आएको मिसन २०८४ का बारेमा प्रष्ट्याउँदै ओलीले भने, ‘हामीले मिसन ८४ भनेका छौं। अब हुने निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सके मात्रै एमालेको मिसन ८४ सफल हुन्छ।
एमालेको एकल बहुमतको सरकार बन्यो भने मात्रै हाम्रो मिसन ८४ सफल हुन्छ।’ त्यसका लागि देशभरका एमाले नेता-कार्यकर्ता अहिलेदेखि नै एकजुट भएर अगाडि बढ्नु पर्ने उनले बताए।
मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अब आर्थिक उन्नती हुने क्रान्तिका लागि लाग्नु पर्नेमा जोड दिँदै उनले त्यसतर्फ सरकार लागिसकेको बताए।
मधेसका जनताको जीवनस्तरमा सुधारका लागि हुलाकी राजमार्ग निर्माणको काम एमाले नेतृत्वकै सरकारले सुरु गरेको उनले जिकिर गरे। यसका साथै हुलाकी राजमार्गमै पर्ने क्षेत्रमा १० वटा स्मार्ट सिटी बनाउने योजना एमाले र अहिलेको सरकारको रहेको उनले सुनाए। तराई–मधेसका १ लाख २५ हजार बिघा बढी जग्गामा सिँचाइका लागि सुनकोशी मरिन डाइभर्सनलाई सिँचाइ आयोजना निर्माणको कामपनि एमाले नेतृत्वकै सरकारले अगाडि बढाएको प्रधानमन्त्री ओलीले बताए।
कृषिलाई आधुनिकीकरण गर्दै किसानको जीवनस्तर उकास्नका लागि ध्यान दिन एमालेका नेता कार्यकर्तालाई उनले आग्रह गरे। मधेसका महिलालाई घरभित्रको चुल्हो चौकमा मात्रै सीमित नराखी घर बाहिर निस्किएर अगाडि बढ्ने हौसला दिन र सम्मान गर्न एमाले कार्यकर्तालाई उनले निर्देशन दिए।
प्रतिकृया दिनुहोस