सौर्य ऊर्जा जलविद्युतको विकल्प बन्न सक्छ त ?

काठमाडौँ । सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने असम्भवप्रायः योजनालाई स्वीकृत गरेका बेला ऊर्जा क्षेत्रका कयौँ विज्ञहरुले भने सौर्य ऊर्जामा नवीन संभावना खोज्नुपर्ने औँल्याउन थालेका छन् । पछिल्लो समय सौर्य ऊर्जाको प्रविधिमा आएको ब्यापक सुधार र यसको सस्तिँदो लागतले अब जलविद्युत् भन्दा सौर्य ऊर्जा बढी विस्वसनीय र सस्तो पर्ने देखाउन थालेको छ ।

हालैमात्र राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा पनि विज्ञहरुले यस्तै तर्क अघि सारेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कार्यसमिति सदस्यसमेत रहेका ऊर्जा उद्यमी कुवेरमणि नेपालले ‘ग्रिड जडित सौर्य विद्युत् आयोजनामार्फत् नेपालमा सौर्य ऊर्जाको विकासको ठूलो सम्भावना रहेको’ बताएका छन् ।

पछिल्लो समय सस्तिँदै गएको प्रविधिका कारण विश्वका धेरैजसो देश सौर्य ऊर्जातर्फ आकर्षित हुँदै गएको अवस्थामा नेपालले पनि यसमा ढिलो गर्नु नहुने उनको धारणा थियो ।

विश्वमा सबैभन्दा बढी चीनले हालसम्म ६ लाख ९ हजार मेगावाट, अमेरिकाले १ लाख ३७ हजार मेगावाट, भारतले ७० हजार मेगावाट सौर्य विद्युत् उत्पादन गरेर उपभोग गरिरहेका छन् । नेपालमा पनि सौर्य परियोजना बनाउन सम्भाव्य जमिनको ०.५ प्रतिशत मात्र प्रयोग गर्ने हो भने ४ लाख २९ हजार ३६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने उनको तर्क छ ।

इनर्जी इफिसियन्सीमा व्यापक सुधार

खोज तथा अध्ययनका क्रममा सन् २०१५ यता सौर्य विद्युत्‌को ऊर्जा दक्षता (इनर्जी इफिसियन्सी) ब्यापक रुपमा बढेको छ । घामको किरणबाट पृथ्वीको सतहमा प्राप्त हुनेृ ऊर्जामध्ये निश्चित प्रतिशत ऊर्जालाई सोलार प्यानलले विजुलीमा रुपान्तरण गर्न सक्छ । यही क्षमतालाई इनर्जी इफिसियन्सी भनिन्छ । एक दशक अघिसम्म यस्तो दक्षता ११ प्रतिशत हाराहारी मात्रै थियो ।

तर अहिले अहिले विश्वभर ज्यादातर व्यावसायिक उत्पादन भएका प्यानलहरुको दक्षता २० प्रतिशत (१९ देखि २१ प्रतिशत) छ । अर्थात्, यस्ता प्यानलले धर्तिको सतहमा प्राप्त हुने सूर्यको कुल ऊर्जामध्ये २० प्रतिशतलाई विद्युत् उर्जामा बदल्न सक्छन् । केही कम्पनीले अलि बढी दक्षताका साथ प्यानल उत्पादन गरिरहेका छन् ।

सनपावरले उत्पादन गर्ने प्यानलको इफिसियन्सी २२.८ प्रतिशत, रेक ग्रुपले उत्पादन गर्ने प्यानल २२.६ प्रतिशत र जिन्को सोलारले उत्पादन गर्ने प्यानल २२.५३ प्रतिशतसम्म ऊर्जा दक्षता हासिल गर्न सक्षम भएको समचारहरुमा जनाइएका छन् ।

तर भर्खरै आएका समाचारहरुले यस्तो दक्षतामा अझै भारी बृद्धि भइरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले दुई साता अघि छापेको खबरअनुसार दक्षिण कोरियाको बहुराष्ट्रिय सौर्य प्रविधि उत्पादक कम्पनी क्युसेलले २८.६ प्रतिशत ऊर्जा दक्षता भएको प्रविधि विकास गरेको छ । सिलिकन सेलमा आधारित उक्त प्रविधिले अहिलेभन्दा कम प्यानलबाटै धेरै विजुली उत्पादन गर्न सक्छ ।

यसले प्यानल बिच्छ्याउने जमीनको आवस्यकता घटाउँछ भने यसको ढुवानी, जडान तथा मर्मतमा लाग्ने श्रमिक लगायतका थुप्रै खर्च कटौति हुने छ । ‘फरोभ्स्काइट सिलिकन सेल’ प्रविधिमा आधारित यस्तो सोलार प्यालन व्यावसायिक स्तरमै उत्पादन गर्न सकिने भनिएको छ ।

यसअघि ब्रिटेनको अक्सफोर्ड पिभीले २६.९ प्रतिशत इफिसियन्सी हासिल गरेको भनेको थियो । त्यस्तै चीनको लोङई कम्पनीले पनि ३० प्रतिशत इसिसियन्सि हासिल गरेको दाबी गरेको छ । ल्याबोरेटरी सेटिङमा भने मल्टिजङ्सन सेल प्रविधिबाट ४७.६ प्रतिशतसम्मको ऊर्जा दक्षता हासिल गर्न सकिने तथ्यहरु बाहिर आइसकेका छन् ।


नेपालमा पनि बढ्दै छ लगानी

यसरी ऊर्जा दक्षता बढ्दै गएका कारण सौर्य विद्युत् उत्पादन र प्रयोग व्यापक बन्न थालेको छ । पछिल्लो एक दशकको अन्तरालमा नेपालमै पनि १०६ मेगावाट सौर्य ऊर्जा उत्पादन भई सञ्चालनमा आइसकेको छ भने कुल ११८९ मेगावाटका विभिन्न आयोजना निर्माणका अनेक चरणबाट गुज्रिरहेका छन् ।

अहिलेकै अवस्थामा पनि सौर्य ऊर्जाको प्रतिमेगावाट लागत बढीमा ७ करोड हुने अनुमान गरिएको छ । जलविद्युतबाट यति नै ऊर्जा उत्पादन गर्न तीन गुणा लागत लागिरहेकहो छ । तराईको डेढ विगाह जग्गाबाट वार्षिक डेढ करोड रुपैयाँसम्म आम्दानी हुन सक्ने जानकारहरु बताउँछन् ।

हालैमात्र प्राधिकरणले आह्वान गरे अनुसारका ६४ आयोजनाबाट ९६० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न जम्मा ८३ अर्ब रुपैयाँ लाग्ने नेपाल बताउँछन् । उनले भने, ‘यसबाट प्रवर्द्धकले वार्षिक १० अर्ब र विद्युत् प्राधिकरणले वार्षिक १७ अर्ब रुपैयाँसम्मको विद्युत् बिक्री गर्न सक्छन् ।’

उनै नेपालका अनुसार सन् २०३० सम्म १४ लाख टेरावाट घन्टा नवीकरणीय ऊर्जा उत्पादनको लक्ष्य रहेको र नेपाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने प्रतिबद्धता विश्व मञ्चमा जाहेर गरेको अवस्थामा सौर्य विद्युत् उत्पादन र उपभोग अपरिहार्य बन्दै गएको छ।

चुनौती र संभावना

प्राविधिकहरुका अनुसार सौर्य विद्युत् उत्पादनका लागि २५ डिग्री सेन्टिग्रेटभन्दा धेरै कम र बढी तापक्रम नहुने ठाउँ उपयुक्त हुन्छ । यसका लागि नेपालका मुस्ताङ्जस्ता हिमाली तथा पहाडी क्षेत्र उपयुक्त हुने हुँदा व्यवसायीहरू त्यता लक्षित हुनुपर्ने आवस्यकता विज्ञले औँल्याएका छन् । सरकारले समेत त्यस्तै क्षेत्रमा प्रसारण लाइन विकास गर्न ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

सौर्य विद्युत् उत्पादनका लागि नेपालको अस्थिर नीति, जग्गा अधिग्रहण, खरिद–बिक्री सम्झौताको दर (पिपए रेट), ग्रीडको व्यवस्थापन तथा अफ ग्रीड सञ्चालनलगायत विषय चुनौतीको रूपमा देखा परेको छ । पछिल्लो पल्ट निर्माणको आशयपत्र पाएका अधिकांश कम्पनीहरु पनि तराईको समथर र ऊब्जाऊ भूमिमै आयोजना लगाउन चाहिरहेका छन् ।

यस्ता समस्याको निराकरण गर्न ठोस कदम चाल्नुपर्ने जानकार बताउँछन् ।

यसको अर्को विकल्प चाहीँ ऊर्जा भण्डारण हो । केही दिनअघि प्रविधि पत्रकार मञ्च नेपालसँगको सहकार्यमा चिनियाँ प्रविधि कम्पनी हुआवेले एक अन्तरक्रिया आयोजना गरेको थियो । त्यस कार्यक्रममा हुआवे नेपालका अधिकारीहरु नेपालमा सौर्य ऊर्जाको विकास र ऊर्जा भण्डारण प्रविधिमा लगानी गर्न आफूहरु तयार रहेको बताएका थिए ।

उनीहरुले कृषि र पशुपालनलाई समेत सौर्य ऊर्जाको साथसाथै अघि बढाउने गरी काम गरेको कयौँ उदाहरण पनि दर्शाएका थिए ।

पछिल्लो समय विश्वभर प्रविधिमा लगानी बढाइएको छ । यसको आधारभूत संरचना मानिने डेटा सेन्टरका लागि नेपाल एक आकर्षक बजार हुनसक्छ । गम्भीर भूराजनीतिक तनावबाट मुक्त रहेको, संसारको सबैभन्दा सघन वस्तीहरुको बीचमा रहेको र ऊर्जा दक्षतामा आफूलाई परिस्कृत गर्दै लगेको नेपालले त्यस्ता परियोजनाहरु भित्र्याउने हो भने सौर्य ऊर्जाको लाभ उठाउन सक्छ ।

आयोजनाको निर्माण थालेको लगभग ६ महिनामा विजुली बेच्ने अवस्था बन्ने भएकाले पनि सौर्य ऊर्जा नेपालका लागि ज्यादै राम्रो लगानी अवसरको रुपमा देखिन थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर