आजदेखि जय ट्रफि क्रिकेट, राताे बलमा प्रतिस्पर्धा
काठमाडौं । आजदेखि जय ट्रफि क्रिकेट सुरु हुने भएकाे छ। क्रिकेट खेलको मजा नै रातो बलमा प्रतिस्पर्धा गर्नु हो । लामो इनिङ्सको फर्म्याटमा रातो बल प्रयोग हुने गर्छ । लगातार दुईदेखि पाँच दिनसम्म चल्ने क्रिकेटमा यही बल प्रयोग हुन्छ । सेतो रंगको बलभन्दा रातोको तौल बढी हुन्छ । जसका कारण पिचमास्विङ निरन्तरता भइरहन्छ । डे क्रिकेटमा खेलाडीहरूले सामान्य एकदिवसीय वा टी–२० मा भन्दा बढी नै मिहिनेत गर्नुपर्छ । दुई वा तीनदिवसीय क्रिकेटमा बलर तथा ब्याट्सम्यानले घन्टौँ धैर्यता देखाउन सक्नुपर्छ । जसले लङ इनिङ्ससम्म खेल्न सक्छन्, ती बलर वा ब्याट्सम्यानले सबै फर्म्याटमा फिट हुन्छन् ।
यही विविधताले भरिएको रातो बलबाट खेलिने जय ट्रफी क्रिकेट प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगन्जमा सुरु हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले लामो समयपछि दुईदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । गत फेब्रुअरीमा प्रधानमन्त्री कपमा शीर्ष चार स्थानमा रहेका नेपाल पुलिस, त्रिभुवन आर्मी, बागमती तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । यी चारै टोलीमा आबद्ध धेरैजसो खेलाडीलाई डे क्रिकेट नौलो लाग्न सक्छ ।
बोनस अंक हुनेछ । प्रतियोगिताको फर्म्याटअनुसार फाइनलमा तीनदिवसीय खेल हुनेछ । जसमा पहिलो ब्याटिङ गर्नेले ८० ओभर खेल्न पाउँछ । यसमा पनि ब्याटिङ गर्ने टोलीले ८० ओभरअगाडि नै इनिङ्स समाप्त गर्न सक्छ ।
कुनै समय घरेलु क्रिकेटमा जय ट्रफीलाई मेरुदण्डका रूपमा लिने गरिन्थ्यो । नेपाल क्रिकेट संघ (क्यान) का संस्थापक अध्यक्ष जयकुमारनाथ शाहले आफ्नै नाममा ०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । नेपालको क्रिकेट इतिहासमा राष्ट्रिय प्रतियोगिता नै जय ट्रफी हो । त्रिवि क्रिकेट मैदान निर्माण नहुँदासम्म जय ट्रफी टुँडिखेलको मैदानमा आयोजना हुन्थ्यो । टुँडिखेल मैदानमा स्थायी क्रिकेट पिच नहुँदा प्रतियोगितामा सहभागी टोलीले हरियो म्याटमा प्रतिस्पर्धा गरेका थिए । यो जय ट्रफी ०५८ सालसम्म भएको थियो । ०३७ देखि ०५७ सालसम्म क्यानले राष्ट्रिय प्रतियोगिताको रूपमा जय ट्रफीलाई मानेको थियो । निरन्तर रूपमा आयोजना भएको जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा पर्थे । त्यसवेला जिल्ला र अञ्चलमा आयोजना हुने राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको नाम नै जय ट्रफी राखिन्थ्यो । जय ट्रफी सुरुवाती समयमा दुईदिवसीय फम्यार्टमा थियो । नेपालले सन् १९९६ मा पहिलोपटक मलेसियाविरुद्ध एकदिवसीय खेल्दा जय ट्रफीबाट खेलाडी छनोट गरिएको थियो ।
प्रतिकृया दिनुहोस