जय ट्रफी: ललितले लिए ७ विकेट, आर्मी सस्तैमा अल आउट
काठमाडौं । गत एनपीएलमा पनि चम्किएका थिए देब्रे हाते स्पिनर ललितनारायण राजवंशी । उनले आज पनि एक्लैले सात विकेट लिएपछि पुलिसले आर्मीलाई कम रनमा अल आउट भयाे ।
जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पहिलो इनिङ्समा सस्तैमा समेटेको हो । पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो ।
एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न पाउँने नियम भए पनि आर्मी ३४.४ ओभरमा अल आउट भएको थियो । आर्मीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।
भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, बसिर अहमद १२ रनमा आउट हुँदा पवन कार्कीले नट आउट १५ रन जोडे । पुलिसका लागि ललितले १४.४ ओभरमा ४७ रन खर्चिएर सात विकेट हात पारे । राशिद खान, कुशल भुर्तेल र श्रवण यादवले समान १ विकेट लिए ।
इनिङ्सको सुरुवात गरेको पुलिस पहिलो दिनको खेल सकिदा सात विकेट गुमाएर १ सय ३ रन जोडेको छ । गुलशन झा ३४ रनमा नट आउट भए ।
त्यसअघि अमित श्रेष्ठ १८, राशिद खान १६, शंकर राना १३ तथा दिलिप नाथ १० रनमा आउट भएका थिए । आर्मीका लागि साहब आलमले ११ ओभरमा ५५ रन खर्चिएर ५ विकेट लिए । सोमपाल कामी र पवन कार्कीले समान १ विकेट लिए ।
प्रतिकृया दिनुहोस