आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औँ वार्षिक साधारण सभा तथा नवौँ निर्यात दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखेका हुन् ।
“सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नु पर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्यो । निर्यातका लागि पनि सोही अनुरूप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,” उनले भने ।
अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे । यसका लागि सरकारले सीआईपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत अनुरोध गरे ।
प्रतिकृया दिनुहोस