• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

अदालतमा हाजिर हुनेवित्तिकै कसरी रिहा भईन एमाले सांसद पोखरेल पत्नी अञ्जला ?

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । पोखरेल पत्नी अन्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएकी हुन्।

बिहान अदालतमा हाजिर भएपछि उनको आजै बयान लिइएको थियो। त्यसपछि सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस चलेको थियो।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२/०७३ देखि सञ्चालक समितिमा थिइन्।

२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ। 

अन्जलाको तर्फबाट बुधबार ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए। 

 यस मुद्दामा रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। अध्यक्ष शम्भु रौनियारसहित २४ अभियुक्त फरार छन्।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।

अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ ।

यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोज कुमार सोनी र यशोदा कुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा जोडिएकी अञ्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास यसअघि ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि उनका श्रीमान एमाले सांसद पाेखरेलले बिदा लिइदिएका थिए ।

यता पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर