रविको मुद्दामा सकियो बहस: निर्णयकाे तयारी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा बिहीबार दिउँसो सरकारी वकिलको कार्यालयको तर्फबाट जवाफी बहस सकिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
आजनै थुनछेक आदेश आउने तयारी भएको उनको भनाइ छ । थुनछेक आदेशले पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने या तारेखमा छाड्ने निर्णय गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको थुनछेक बहस सकिएपछि हिजोदेखि जवाफी बहस सुरु भएको हो ।
सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता भएको थियो । जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो ।
प्रतिकृया दिनुहोस