अदालतले आदेश दिएपनि यस कारण प्रहरीले रविलाई छोड्दैन
काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्टे अवस्था रहेको छ ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी छ ।
यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनलाई छुट्न सहज नदेखिएको हो ।
कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाले लामिछाने धरौटी बुझाएर रिहा भएपछि काठमाडौँ पठाइने बताए ।
गम्भीर अभियोग लगाएर पनि प्रमाणले पुष्टी गर्ने आधार नदेखिएमा वा अभियोग गम्भीर नभएर प्रमाण पनि बलियो नभएको अवस्थामा साधारण तारिखको आदेश हुने गर्दछ। अभियोग गम्भीर छ । तर, तत्काल प्राप्त प्रमाणले पुष्टिको आधार प्रदान गर्दैन वा अभियोग त्यति धेरै गम्भीर छैन भने साधारण तारेखमा छाड्ने अभ्यास रहने गरेकाे छ ।
आदेशमा के छ?
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले लामिछाने तथा छविलाल जोशीसहित ७ जना प्रतिवादीहरूलाई धरौटी लिइ तारेखमा छाड्ने आदेश भएको जानकारी दिए।
उक्त आदेशपछि सञ्चारकर्मीहरूसँग उनले भने, "यो थुनछेक आदेश मात्र हो। मुद्दा टुङ्गिएको होइन। अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्र गर्नेछ।"
"यो थुनछेक आदेशमा चित्त नबुझे प्रतिवादी उच्च अदालतमा पुनरावेदन जान सक्ने अवस्था पनि रहन्छ।"
उनका अनुसार अदालतले लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा "सहकारीको रकम निजको खातामा आउने र अन्यमा जाने र अन्यसँगको सम्बन्धका आधारमा" उनलाई "कसुरदार रहेनछन् भन्ने मुनासिब कारण नदेखिएको" उल्लेख गरेको छ।
त्यसैका आधारमा "धरौटी लिएर तारेखमा राख्न र धरौटी बुझाउन नसकेमा थुनामा राख्न आदेश भएको" उनले सञ्चारकर्मीहरूलाई बताए।
जोशी र अन्य प्रतिवादीका हकमा पनि उस्तै खालको आदेश भएको जनाइएको छ।
लामिछानेबाहेकका प्रतिवादीमध्ये जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरूङ र मीना गुरूङसँग ५/५ लाख तथा कृष्णबहादुर गुरूङसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।
प्रतिकृया दिनुहोस