• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

माओवादी र एकीकृत समाजवादीको शीर्ष नेताको भेटः सहकार्य हुँदै एकता प्रयास

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरूबीच छलफल भएको हो ।

सो क्रममा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।

‘समाजवादी मोर्चाका गतिविधि बढाउने सहमति भयो,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले भने, ‘मोर्चाका संयोजक नेत्रविक्रम चन्दसँग सल्लाह गरी बैठक बोलाउने कुरा भएको छ ।’

माओवादी केन्द्रको नेतृत्वको सरकार विस्थापित भएपछि मोर्चाका गतिविधि भएका थिएनन् । सरकारबाहिर रहेका दलहरू मोर्चामा रहेकाले सरकारका गलत कामविरुद्ध दबाबमूलक कार्यक्रम बनाउने तयारी छ ।

भेटमा कांग्रेस-एमाले गठबन्धनको सामान्य समीक्षा भएको थियो । बाहिरबाट हेर्दा गठबन्धन सहज देखिए पनि सरकारका कामले गति नलिएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको टिप्पणी थियो ।

त्यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ । यी दुवै दलले सहकार्यका लागि ढाेका खुला रहेकाे बताउँने गरेका छन् । कतिपय नेताहरूले शीर्ष नेताहरूकाे यस्ताे भेटले सहकार्य हुँदै एकतासम्मकाे मार्ग प्रसस्त गर्ने दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर