अमेरिकामा ६ दिनदेखि भयानक आगलागीः ज्यान गुमाउनेको संख्या १६ पुग्यो
एजेन्सी । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। त्यहाँको मेडिकल परीक्षकको कार्यालयले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।
अग्नि नियन्त्रकहरूले डढेलोलाई लस एन्जलसको एउटा विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा फैलन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छन्।
थप एक हजार एकडमा विस्तार भएको र ब्रेन्टउड क्षेत्रतर्फ अघि बढिरहेको प्यालीसेड्स डढेलोलाई रोक्न अग्निनियन्त्रकहरूले आगलागी भइरहेको पहाडी क्षेत्रमा पानी र आगो निभाउने 'फायर रिटार्डेन्ट' खसाइरहेका छन्।
अग्नि नियन्त्रकहरूले तीव्र गतिमा अघि बढिरहेको आगोको लप्का नियन्त्रण गर्न सङ्घर्ष गरिरहँदा अधिकारीहरूले ती सामाग्रीहरू खासै प्रभावकारी नभएको भन्दै आक्रोशको सामना गर्नु परिरहेको छ।
राति हावाको वेग अझै बढ्ने अपेक्षा गरिएको छ र त्यसले डढेलोलाई थप शक्तिशाली बनाउन सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।
लस एन्जलस काउन्टीकी सुपरीवेक्षक लिन्डसी होर्भाथले भनिन्, "एल ए काउन्टीले आतङ्क र मुटु छियाछिया पार्ने अर्को अकल्पनीय रातबाट गुज्रनुपरेको छ।"
आगलागीले इटनमा ११ जना र प्यालिसेड्समा ५ जनाको मृत्यु भएको हो। अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्।
पालिसेड्समा लागेको आगलागीले लगभग २१ हजार एकड क्षेत्रफललाई असर गरेको छ। अहिलेसम्म अग्निनियन्त्रकहरूले त्यहाँ लगभग ८ प्रतिशत आगो नियन्त्रणमा लिएका छन्।
आगलागीबाट इटन दोस्रो सबैभन्दा बढी प्रभावित क्षेत्र हो। जहाँ आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल नष्ट भएको छ। लस एन्जलसका आगलागी भएका क्षेत्रमा पालिसेड्स, इटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ पर्छन्।
प्रतिकृया दिनुहोस