क्यालिफोर्निया आगलागी: मृत्यु हुनेको संख्या २४ पुग्यो, फेरी तीव्र हावा चल्ने चेतावनी
अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । १६ जना अझै हराइरहेका छन ।
इडन आगालागी क्षेत्रमा १६ जना र पलिसाड्स क्षेत्रमा ८ जनाको शव फेला परेको छ ।
आगलागी क्षेत्रमा लुटपाटका लागि २९ जनालाई पक्राउ गरिएको छ । दुई व्यक्ति नक्कली अग्निनियन्त्रकको भेषमा चोरीको प्रयास गर्दै पक्राउ परेका छन् ।
लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले राष्ट्रिय गार्डका थप १ हजार सदस्यलाई तैनाथ गर्ने घोषणा गरेका छन् ।
लस एन्जलस वरिपरिका आगलागी नियन्त्रणमा जुटेका अग्निनियन्त्रकहरूलाई यस हप्ता फेरि तीव्र हावाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।
सान्ता एना हावाले आइतबार रातिदेखि बुधबारसम्म ६० माइल प्रतिघण्टा ९६ किमी सम्मको गतिमा चल्ने अनुमान गरिएको छ ।
अग्निनियन्त्रकहरूले आगो निभाउन केही प्रगति गरेका छन् । जसले लस एन्जलसको दुईवटा प्रमुख आगलागी (पलिसाड्स र इटन) को फैलावट रोक्न सहयोग पुर्याएको छ ।
स्थानीय फायरफाइटरहरूलाई अमेरिका, क्यानडा र मेक्सिकोका आठ राज्यबाट आएका टोलीहरूले साथ दिएका छन् ।
लस एन्जलसका अग्नि प्रमुख क्रिस्टिन क्राउलीले खाली गर्नुपर्ने क्षेत्र नजिकका बासिन्दाहरूलाई सचेत रहन र आदेश आएमा तुरुन्तै स्थानान्तरण गर्न आग्रह गरेकी छन् ।
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसम र राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबीच आगलागीका विषयमा विवाद चुलिएको छ ।
ट्रम्पले राज्यका नेताहरूलाई अयोग्य भनी आलोचना गरेका छन् । गभर्नर न्युसमले ट्रम्पलाई गलत सूचना फैलाएको आरोप लगाएका छन् ।
अहिलेसम्म करिब १ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । करिब १ लाख मानिसलाई सतर्क रहन भनिएको छ ।
आगलागीको अवस्थालाई मध्यनजर गर्दै थप सावधानी अपनाउन अधिकारीहरूले सबैलाई आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस