• २०८१ माघ २३ बुधबार
  • Wednesday, 5 February, 2025

एमाले सचिव लेखराजले भनेः 'जनयुद्ध नभएको भए ओलीले पनि त्यसरी बोल्न पाउनुहुन्थेन'

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सचिव हुन् लेखराज भट्ट । उनलाई पार्टीले सुदुरपश्चिम प्रदेशको पार्टी इन्चार्जको जिम्मेवारी दिएको छ । 

सोही जिम्मेवारी निभाइरहेका उनले एमाले सुदूरपश्चिम प्रदेश कमिटीले गरेका निर्णय सार्वजनिक गर्न पार्टीको प्रचार तथा प्रकाशन विभागले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोले । सार्वजनिक कार्यक्रममा उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रशंसा र उनको संविधान संशाेधन बारेकाे भनाईको बचाउ गरे । ‘बैठकमा विभिन्न कोणबाट छलफल हुन्छन् । त्यसले दुई दलबीच भएको ७ बुँदे सहमतिमा असर पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘यसले समीकरणमा पनि तलमाथि हुँदैन । नेपाली कांग्रेसमा पनि विभिन्न कोणबाट आउने कुरा स्वभाविक नै हो । उहाँहरू कांग्रेस खुल्ला रुपमा लोकतान्त्रिक अभ्यास गर्ने पार्टी पनि हो भन्नुहुन्छ ।’

तर भित्रभित्रै माओवादीबाट एमालेका गएका नेताहरु कति पीडित, कति कमजोर र निराश छन् भन्ने कुरा उनले केही दिन अघि अत्तरियास्थित  आफ्नाे निवासमा निकटस्थहरुसँग गरेको अनौपचारिक कुराकानीबाट प्रष्ट झल्कन्छ । 

अहिले केपी ओलीले जनयुद्धका विषयमा जे जे भनेपनि जनयुद्ध नभएको भए ओलीले अहिले बोल्नै नपाउने अवस्था आउने भट्टले टिप्पणी गरेका छन् । 

एमाले भित्र पूर्वमाओवादीहरुलाई अपराधिका रुपमा व्याख्या गर्ने गरिएको उनले दुखेसो पोखे । 

समाचार दैनिकलाई प्राप्त भिडियोमा उनले भनेका छन्, ‘उहाँहरुले हामीलाई बुझ्नु भएकै छैन, टोपबहादुर जी भित्र (नक्ली शरणर्थी प्रशरणमा जेल) पर्नुभयो, कतिपय जिम्मेवार नेताहरु नै देखेको झैं गरी माओवादीमा अपराध गरेर एमालेमा बच्न आएको भन्छन् । मञ्चमा हामी हुन्छौं अध्यक्ष ओली आतंककारी भन्दिनुहुन्छ हामीलाई, अपराधि, हत्यारा भन्दिनुहुन्छ ।’

जनयुद्धप्रति अहिलेपनि आफूहरुले गर्व गर्ने उनले सुनाए । ‘गर्व गर्छौं के हामी, अहिले पनि म भन्छु, केपी ओलीले पनि जनयुद्ध नभएको भए त्यसरी बोल्न पाउनुहुन्थेन ।’ 

एमालेमा केपीसँग जुध्ने बेला नभएको उनले स्वीकार गरे । जुध्न खोजेमा कि पार्टी छोड्नुपर्ने, कि अरु पार्टीमा जानुपर्ने कि सन्यास लिनुपर्ने अवस्था आउने र त्यो गर्ने अवस्था अहिले नरहेको उनले स्वीकार गरे । 'मार्क्सिज्म भन्छ नि, मबाहेक अरू छैन। अब मेरो के हुन्छ? या त मैले अन्य पार्टी खोल्नुपर्छ। या त अरू पार्टीमा जानुपर्छ। या त मैले सन्यास लिनुपर्छ। सिधै अहिले नै केपीसँग जुध्ने हो भने त समस्या त आइहाल्छ। अहिले बेलै भएको छैन।'

भट्ट मात्रै होईन एमालेमा रहेका पूर्वमाओवादीका अन्य नेताहरुको अवस्था उस्तै छ ।  पूर्वमाओवादी मात्रै होईन, माधवकुमार नेपालसँग लागेर पछि एमाले छिरेका १० बुँदे पक्षधरहरुको अवस्था पनि उस्तै कमजोर रहेको एमालेका नेताहरु स्वीकार गर्छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर