एमाले सांसद तामाङ जोडिएको नमोबुद्ध, लालिगुरास र सुमेरु सहकारी सिल

हेटाैंडा । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाले तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ। आइतबार तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेर सिल गरिएको सहकारी महाशाखाका रजिष्ट्रार कमल तामाङले बताए।

उनका अनुसार ललितपुरमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौंमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र काठमाडौंमै रहेको नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्दै सिल गरिएको छ।

नेसनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीको रकम अपचलन गरेर अध्यक्ष पदबाट बाहिरिएको आरोप छ। २०७२ सालदेखि २०७८ सालसम्म सो सहकारीको अध्यक्ष पद सम्हालेका तामाङ बाहिरिएपछि सहकारीको रकम अपचलनको तथ्य खुलेको हो। हाल बागमती प्रदेश सभा सांसद रहेका तामाङले अध्यक्ष पद छोडेलगत्तै केही बचतकर्ताहरूले प्रदेशको राजधानी हेटौंडास्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए। २०७९ पुस २९ गते सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए।

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताले आफ्नो बचत रकम अपचलन गरेको भन्दै ९७२ जनाले उजुरी दिएका थिए। उजुरीमा उल्लेखित भएको माग दाबी रकम १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार रुपैयाँ छ। सहकारीले बचतकर्ताहरूको रकम फिर्ता दिन सक्ने प्रमाण पेस गर्न नसकेपछि उक्त सहकारी सिल गरिएको प्रदेशको सहकारी महाशाखाले जनाएको छ ।​

यस्तै, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड विरुद्ध ८४८ जनाले उजुरी दिएका थिए। उजुरीको आधारमा उल्लेखित २ अर्ब २५ करोड १४ लाख रुपैयाँ बचत फिर्ताको माग गर्दै बचतकर्ताहरूले सहकारी महाशाखामा विभिन्न मितिमा उजुरी दर्ता गराएकोमा सञ्चालकहरूले सहकारीको कार्ययोजना तथा छलफलमा सहभागी नै नभएका कारण उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सिल गरिएको बताइएको छ।

ललितपुरको पुल्चोकमा कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संस्थापक भरत महर्जनसहितले १० अर्ब बढी बचत हिनामिना गरेको आरोप छ। २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी थालेको थियो। महर्जनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर निजी कम्पनीहरू खडा गरेको खुलेको थियो।

यता, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्त सहकारी घोषणा गरिएको छ। सहकारीका पूर्वअध्यक्ष तथा बागमती प्रदेश सांसंद ज्ञानबहादुर तामाङले रकम अपचलन गरेको भन्दै बचतकर्ताहरूले सहकारी महाशाखामा उजुरी दिएका थिए।

बचत फिर्ताको माग गर्दै ७२ जनाले उजुरी दिएकोमा सहकारी संस्थामा दायित्व भन्दा सम्पत्ति कम देखिएको तथा सहकारी संस्थाका सञ्चालकले बचत फिर्ताको विषयमा चित्तबुझ्दो काम नगरेका कारण समस्याग्रस्त सहकारी घोषणा गरिएको रजिष्ट्रार तामाङले बताए।

१ अर्ब ५० करोड दायित्व भएको नेसनल नमोबुद्धको सम्पत्ति ६० करोड मात्रै पाइएको थियो। सहकारी महाशाखाले खोजतलास गर्ने क्रममा ७० प्रतिशत ऋण प्रवाह बिना धितोमा गरेको पाइएको बताइएको छ।

अरु सम्पत्ति कहाँ कति छ भन्ने विषयमा सञ्चालक समितिले उत्तर नै दिन नसकेपछि समस्याग्रस्त सहकारी घोषणा गरेर सिल गरिएका प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठले बताए।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर