अखिल क्रान्तिकारीमा चुनावी रौनकः अध्यक्षका लागि प्रचण्डका तीन प्राथमिकता
काठमाडौं । झण्डै आधा वर्ष लम्बिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी बल्ल नयाँ नेतृत्व चयनको संघारमा आईपुगेको छ । असोज १० सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
बन्दसत्रका क्रममा प्रतिनिधिको संख्यादेखि विधानका व्यवस्थासममा विवाद भएपछि सम्मेलनले नयाँ नेतृत्व चयन गर्न सकेन परिणामस्वरुप प्रकृया लम्बिँदै जाँदा माघ १२ गते विहान ९ बजेका लागि नयाँ नेतृत्व चयन गर्न मतदान हुने तय भएको छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा ३२ वर्ष उमेर हद लगाउने कि खुला राख्ने विषयमा विवाद हुँदा सम्मेलन स्थगित भएको थियो । दोस्रोपटक मंसिर २३ र २४ गते प्रत्येक प्रदेशमा दुई चरणमा मतदान हुनेगरी निर्वाचन मिति तोकिएको थियो । तेस्रोपटक पुस १३ र १७ गते निर्वाचन गर्ने मिति तोकिएको थियो । तर मतदानमा खुला पक्षधर पराजित भएपछि दोस्रो चरणको निर्वाचन तालिका प्रभावित भएको थियो ।
निर्वाचनका लागि कार्यविधि र तालिकासमेत आईसकेकाले अब क्रान्तिकारीले ३२ वर्षभन्दा मुनिको उमेरसमूहबाट नयाँ नेतृत्व चयन गर्ने लगभग पक्का भएको छ ।
यसो गर्दा देशभरबाट स्थानीय तहसम्मका गरी लगभग ६ सहको हाराहारीमा नेता कार्यकर्ता विद्यार्थी अभियानबाट बाहिरिएका छन् ।
नयाँ अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका लागि निर्वाचन हुनेछ । माओवादी केन्द्रको सवैभन्दा ऊर्जाशिल र शक्तिशाली विद्यार्थी संगठनको नयाँ नेतृत्वका लागि उपमहासचि र त्यो भन्दा मुनिको तहका आधा दर्जनबढी नेताहरुले आकाँक्षा देखएका छन् । त्यसमा पनि ५ जनाको प्रतिस्पर्धा तिब्र रहेको स्रोत दावी गर्दछ ।
जसमा तीन जना अध्यक्ष प्रचण्डसँगै नजिक रहेका नेताहरु रहेका छन् । एक जना वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सचिवालयमा मन्त्री हुँदा काम गरेका नेता छन् भने अर्का एक जना सुदन किराती पर्यटनमन्त्री भएका बेला पीए बसेका नेता छन् ।
अध्यक्ष प्रचण्डसहित अधिकाँश पदाधिकारीहरुले सकेसम्म सर्वसम्म गर्ने त्यति नभएपनि एउटै उम्मेदवारलाई चुनावी मैदानमा पठाउने तयारी गरेका छन् ।
यसमा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्षहरु, महासचिव, उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत लगायत छन् । उनीहरुको रोजाईमा गण्डकी प्रदेशका सुदीन पौडेल पहिलो नम्बरमा परेका छन् । सोही प्रदेशका विजय प्रकाश सापकोटा, र तिर्सना हमाल रहेका छन् ।
अध्यक्ष प्रचण्डले अध्यक्षका उम्मेदवारको टुंगो लागेपछि उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीको टुंगो लगाउने तयारी छ ।
वरिष्ठ उपाध्यक्षले यादवलाई अघि सार्दा उपमहासचिव जनार्दन शर्मा भने, सुदन किराँतीको पीए बसेका हेमन्त किराँतीलाई अघि सार्ने तयारीमा छन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सचिवालयमै बसेको हुनाले उनले भने उपदेश यादवलाई अध्यक्ष त्यो नभए उपाध्यक्ष वा महासचिवमा पक्क गराउन खोजेका छन् ।
उस्तै योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, र विश्वमणि थापाको पनि चर्चा भएको छ ।
अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो । करिब दुई हजार चार सय मतदाता रहेकामा १ हजार ७ सय ८९ मत खसेको थियो । मत परिणाम अनुसार उमेर हद लगाउनुपर्ने पक्षमा ९ सय र नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो ।
उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिए ।
पूर्वविद्यार्थी नेताहरूलाई जिम्मेवारी दिनेबारे उपमहासचिव शक्ति बस्नेत, इञ्चार्ज हिमाल शर्मा र अखिल क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहको कार्यद बनाएको थियो । कार्यदलको प्रतिवेदनका आधारमा पूर्वविद्यार्थी नेतालाई जिम्मेवारी दिनेबारे टुंगो लाग्न बाँकी छ ।
संगठनबाट बाहिरिएका नेताहरूले पार्टीमा उचित जिम्मेवारी दिन माग गरेका छन् । यस विषमाय पूर्व अध्यक्ष रिन्जत तामाङले केन्द्रीय समिति बैठकमै जिम्मेवारी ताेकेर जान सुझाव दिएका थिए ।
निर्वाचन कार्यतालिका-
१. मिति २०८१ साल माघ ८ गते बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्नु पर्ने छ ।
२. मिति २०८१ साल माघ ८ गते उम्मेदवारी मनोनयनको समय समाप्तपछि सोही दिन उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।
३. मिति २०८१ साल माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्नु पर्ने छ ।
४. मिति २०८१ साल माघ ९ गते बिहान ११ः०० बजे पछि दाबी विरोधको छानबिन र नामावली प्रकाशन गरिने छ ।
५. मिति २०८१ साल माघ १० गते बिहान ११ः०० बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने छ ।
६. मिति २०८१ साल माघ १० गते दिउँसो २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
७. मिति २०८१ साल माघ १२ गते बिहान ९ः ०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मतदान हुनेछ ।
८. प्रत्येक प्रदेशमा मतदान केन्द्र रहनेछन् ।
९. ३२ वर्ष उमेर हदका लागि २०४९ माघ ७ गते तदअनुसार २० जनवरी १९९३ वा त्यसपछि जन्ममिति भएका प्रतिनिधिले मात्र मनोनयन दर्ता गर्न सक्नेछन् । उम्मेदवारी मनोनयन दर्ता गर्दा नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचयपत्रमध्ये कुनै १ परिचय पत्र अनिवार्य अपलोड गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस