अहिले कांग्रेससँग मिलेर सरकारमा जाने सम्भावना छैन– प्रचण्ड
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने अहिले कुनै सम्भावना नरहेकाे बताएका छन्। उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताएका हुन्।
प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले वर्तमान सरकार आफ्ना र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् ।
यो गठबन्धनको सरकार बनेको बेला आफूले भनेको कुरा अहिले सावित हुँदै गएको प्रचण्डको भनाइ छ ।
आफू सरकारमा जाने विषयमा अहिले नै केही नसोचेको उनले बताए । ‘सरकारप्रति आफूहरूको कुनै रुचि छैन,’ उनले भने, ‘वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा जाँदैन ।’
केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता शेखर कोइराला र चन्द्र भण्डारीसँग भएको संवादको स्मरण गर्दै संयोगवस् कुराकानी भएपनि सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको प्रचण्डले बताए।
‘कांग्रेसका सशांक र चन्द्र जीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो। सरकारप्रति अहिले कुनै अभिरुचि छैन। सरकार जति जान पर्ने हो जाओस्, हामी जनतासँगै जान्छौं,’ प्रचण्डले भने। सरकारमा जाने कुनै अभिरुचि नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए।
सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समितिमा छलफल भइरहेका विधेयक अध्यादेशमार्फत ल्याएर गलत गरेको जिकिर गरे।
संसदलाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको उनको भनाइ थियो। अहिलेको सरकार भ्रष्टाचारी र आफ्ना मान्छे जोगाउने, राम्रा काम गरेका संस्थामा आक्रमण गर्ने, इमान्दारपूर्वक काम गर्ने कर्मचारी हटाउनेलगायतका काममा लागेको प्रचण्डको आरोप छ।
प्रचण्डलाई सुर्खेत भेरीगङ्गाको छिन्चुमा नेता कार्यकर्ता र स्थानीयबासीले स्वागत गरेका थिए। अध्यक्ष प्रचण्डले आज बाँकेको खजुरामा हुने जनसभा र नेपालगन्ज व्यापार महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतिकृया दिनुहोस