अमेरिका चिनियाँ एआई मोडल डीपसीकको फन्दामा पर्यो
काठमाडौं । चीनको कृत्रिम बौद्धिकता (एआई) मोडल डीपसीकले अमेरिकालाई नराम्ररी प्रभावित बनाएको छ । यसले अमेरिकी सेयर बजारमा ठूलो गिरावट ल्याएको छ । एआई चिप्स बनाउने एनभीडीयालगायतका प्रमुख कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको हो । केवल एनभीडीयालाई मात्रै करिब ६०० अर्ब डलरको घाटा भएको छ ।
डीपसीकको च्याटबोट डीपसीक–आर वन बनाउनका लागि अमेरिकी चिप निर्माता कम्पनी एनभीडीयाको जीपीयू प्रयोग गरिएको थियो । हालै अमेरिकाले चिप निर्यातसम्बन्धी नियम कडा बनाएको छ । डोनाल्ड ट्रम्पको प्रशासनअघि नै अमेरिकाले चीन लगायतका देशहरूमा चिप निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
कसले बनायो डीपसीक ?
डीपसीक बनाउने व्यक्ति एक सामान्य पृष्ठभूमिबाट आएका हुन् । उनका पिता एउटा प्राथमिक विद्यालयका शिक्षक थिए । तर, उनले विश्वव्यापी रूपमा ठूलो प्रभाव पार्ने यो एआई मोडल निर्माण गरेर सबैलाई चकित पारे । उनको नाम लियाङ वेनफेङ हो । उनी डीपसीकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् ।
डीपसीकमार्फत् चीनले दियो ठूलो झट्का
डीपसीक अमेरिकाका लागि ठूलो झट्का मानिएको छ । जानकारहरूका अनुसार अमेरिकाले चीनका लागि चिप निर्यातमा लगाएको प्रतिबन्ध आफैलाई भारी परेको छ । अब चिनियाँ कम्पनीहरूले एआई क्षेत्रमा तीव्र प्रगति गर्नसक्नेछन् । यसले गर्दा चीन अब एआईका मामलामा अमेरिकालाई प्रतिस्पर्धा दिनसक्छ ।
अमेरिकाको लागि सबैभन्दा चिन्ताको विषय भनेको यो हो कि डीपसीकले यो मोडल गुगल र ओपनएआईका च्याटबोटहरूभन्दा निकै कम मूल्यमा तयार गरेको छ ।
ट्रम्पको चेतावनी
ट्रम्पले डीपसीकको प्रगतिलाई अमेरिकी उद्योगका लागि चेतावनी भनेका छन् । मियामीमा आयोजित रिपब्लिकन कंग्रेसको कार्यक्रममा ट्रम्पले भने, ’डीपसीकले एआई क्षेत्रमा अमेरिकाका लागि ठूलो प्रतिस्पर्धा सिर्जना गरेको छ । यो अवस्थामा हामीले एआई क्षेत्रमा अझै ध्यान केन्द्रित गर्नुपर्नेछ ।’
एनभीडीयालाई ठूलो नोक्सान
सोमबार अमेरिकी सेयर बजारमा ठूलो गिरावट आयो । नास्ड्याक ३ प्रतिशतभन्दा बढीले घटेर १९ हजार ३४१.८३ मा झर्यो ।
यसको असर एनभीडीयामा प्रत्यक्ष रूपमा परेको छ । एनभीडीयाको सेयर मूल्य १७ प्रतिशतले घटेर २४.२ डलरले झर्यो । यसका कारण कम्पनीको बजार पूँजीकरण ५९३ अर्ब डलर ले घटेर २.९० लाख करोड डलरमा पुगेको छ ।
अमेरिकाको विकल्प के छ ?
यस समस्याबाट बाहिर निस्कनका लागि अमेरिकाले एआई क्षेत्रमा थप काम गर्नुपर्नेछ । ट्रम्पले हालै एआईमा ५०० अर्ब डलरको लगानी गर्ने योजना प्रस्तुत गरेका थिए । यस परियोजनाको उद्देश्य एआईमा अमेरिकाको अग्रता सुनिश्चित गर्नु हो ।
ट्रम्पले यो योजना सफ्टबैंकका सीईओ मासायोशी सोन, ओपनएआईका सीईओ साम अल्टम्यान र ओरेकलका अध्यक्ष लैरी एलिसन लगायत प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूसँग मिलेर प्रस्तुत गरेका थिए।
तर, यो परियोजनालाई लिएर एलन मस्कले असन्तुष्टि व्यक्त गरेका थिए ।
डीपसीक साधारण एआई होइन
डीपसीक एउटा अत्याधुनिक भाषा मोडल हो, जसले तपाईंले सोधेको कुनै पनि प्रश्नमा व्यक्तिगत अनि सन्दर्भअनुसारको सटीक जवाफ दिन सक्छ ।
‘एआई ओभरलर्ड’ को उपाधि
यसलाई नयाँ पुस्ताको ‘कूल किड’ मानिएको छ, जो ओपन एआईको च्याटजीपीटी र गुगलको जेमिनीलाई चुनौती दिन तयार छ ।
सिलिकन भ्यालीमा डीपसीकलाई ‘पूर्वको रहस्यमय शक्ति ‘ भनेर चिनिन्छ । यो चीनको एआई दौडमा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस