दलीय सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मूल्याङ्कन गर्न ६ महिना पर्याप्त नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहे पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको उनको भनाई छ ।
सभापति देउवाले आर्थिक अवस्था सुदृढ नहुँदा विकास वा समृद्धिको यात्रा चाहनाअनुसार अगाडि बढ्न नसकिएको बताए । सभापति देउवाले भने, ‘हाम्रो देशको आर्थिक अवस्था उकास्न जरूरी छ। हालै सरकारले व्यवसायिक वातावरण प्रवद्र्धन गर्न, देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ । यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास गरेको छु ।’
यी कानुनहरूले आर्थिक क्षेत्रमा क्रियाशील नीजि क्षेत्र उत्साहित र सकारात्मक भएको उनले बताए । ती अध्यादेशहरू सदनबाट स्वीकृत हुने सभापति देउवाको विश्वास छ । फरक प्रसंगमा उनले राजनीतिक दलहरूको सहमतिका आधारमा संविधान संशोधन हुने बताए ।
संविधान संशोधन गर्न छलफल प्रारम्भ भएको उनले बताए । सभापति देउवाले अहिलेको सरकारले ६ महिनामा राम्रा काम गरेको र भविष्यमा पनि असल परिणाम दिने बताए ।
प्रतिकृया दिनुहोस