५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, हाेला बदर ?
![](https://samachardainik.com/uploads/news/images/Oli-cholen-(1)2022-03-23-03-47-53.jpeg)
काठमाडौं । संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित रिट दर्ता भएको थियो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिएको हो । २०७७ साल पुसमा दर्ता भएको उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो ।
प्रधानन्यायाधीश राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा यो रिटको सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न अख्तियारसहित संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।
अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।
त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने त्यसपछि लगातार हेर्न नभ्याउने र नमिल्ने हुँदै सर्दै आएको छ ।
यसैबीच आजै प्रधानन्यायाधीश राउतले न्याय परिषद्को बैठक पनि बोलाएका छन् ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्मा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि पदेन सदस्य छन् ।
संवैधानिक इजलासमा भएका दुई न्यायाधीश न्याय परिषद् बैठकमा जानुपर्ने भएकाले सुनुवाइको समय खुम्चिन सक्ने छ । यद्यपि, ४ बजेपछि मात्र बैठक बस्ने प्रधानन्यायाधीशनिकट स्रोतले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस