महिला च्याम्पियनसिप खेल्न एन्जिला ग्रिसबाट आइपुगिन, साम्बा र रेखा पनि आउने
![](https://samachardainik.com/uploads/news/images/anjeela2025-02-12-03-27-12.jpeg)
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् । पछिल्लो समय ग्रीसमा व्यवसायिक फुटबल खेल्दै आएकी एञ्जिना राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न आज (बुधबार) नेपाल आईपुगेकी हुन् ।
एञ्जिला घरेलु मैदानमा हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न नेपाल आएकी हुन् । उनी एयर अरेबियाको फ्लाइटमार्फत आज दिउँसो १ बजे काठमाडौं अवतरण गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्जिलाले ग्रिसको शीर्ष डिभिजनमा यही महिना डेब्यु गरेकी थिइन्। फिफा विन्डोमा हुने च्याम्पियनसिप खेल्न उनी फर्किन लागेकी हुन्। यसबीचमा क्लबका खेलहरू हुने छैनन्। उनी ग्रिसको नीस अट्रोमिटौमा आवद्ध भएकी छिन्।
व्यवसायीक फुटबल खेल्न फ्रान्समा रहेकी फर्वाड सावित्रा भण्डारी साम्बा र साउदीमा रहेकी रेखा पौडेल पनि फर्किने भएका छन्। साम्बा आगामी सोमबार बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन्। एयर इन्डियाको विमानमार्फत काठमाडौँ आउने तालिका रहेको छ। रेखा भने आगामी शनिबाार दिउँसो पौने ४ बजे काठमाडौँ आउनेछिन्।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ ।
नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपाल किर्गिस्तानबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ । यसैगरी नेपालले दोश्रो खेल फागुन ८ गते लेबना र तेश्रो खेल ११ गते म्यानमारसँग खेल्ने छ। फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न लागेको हो।
नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारीका लागि ३० सदस्यीय नेपाली राष्ट्रिय टोली प्रशिक्षणमा छ। बन्द प्रशिक्षण महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा सञ्चालन भइरहेको छ। व्यवसायीक फुटबल खेल्न विदेशमा रहेका तीन खेलाडीबाहेक अरु खेलाडी प्रशिक्षणमा सहभागी छन्।
खेलहरु सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।
प्रतियोगिताका लागि साधारण पारापिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ।
प्रतिकृया दिनुहोस