अमेरिकामा रिपब्लिकन सांसदले ल्याए डिभी खारेज गर्ने बिल

अमेरिकामा रिपब्लिकन सांसदले डिभी लोटरी अन्त्य गर्ने बिल ल्याएका छन् । बुधबार रिपब्लिकन सांसद माइक कोलिन्सले यो बिल पेश गरेका हुन् । बिलको उद्देश्य डाइभर्सिटी भिसा लोटरी अन्त्य गर्ने र लोटरी विजेताहरूको लागि परिवारका सदस्यहरूलाई प्राथमिकता दिने ग्रीन कार्डहरूका लागि तुरुन्तै स्पोन्सर गर्ने क्षमतालाई हटाउने रहेको छ ।
यो बिल पेश गर्न पाउँदा आफूलाई गर्व लागेको सांसद कोलिन्सले सामाजिक सञ्जालमा बताएका छन् । अनुहारविहीन कम्प्युटर कोडले ग्रिनकार्ड पाउने व्यक्ति छान्ने डिभी कार्यक्रमले अमेरिकामा चेन माइग्रेसनको अनन्त प्रणाली खोलिएको भन्दै उनले यो कार्यक्रमको विरोध गरेका छन् । प्राथमिकताहरू पुनः निर्धारण गर्न र अमेरिकालाई पहिलो स्थानमा राख्न उनले आव्हान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतदेखि नै डिभी कार्यक्रमको विरोध गर्दै आएका छन् । अघिल्लो कार्यकालमा उनले सन् २०१७ को अक्टोबर ३१ मा न्युयोर्कको म्यानहट्टनमा भएको घातक ट्रक आक्रमण पछि पहिलो टिप्पणीमा संसदलाई डाइभर्सिटी भिसा लोटरी कार्यक्रम समाप्त गर्न आह्वान गरेका थिए । उक्त हमलाका संदिग्ध २९ बर्षीय सेफुल्लो साइपोभ डिभी कार्यक्रममार्फत उज्वेकिस्तानबाट अमेरिका आएका थिए। उक्त हमलामा ८ जनाको ज्यान गएको थियो ।
ट्रम्पले त्यतीबेला डिभी लोटरीकाविरुद्ध विभिन्न ट्वीटहरु पनि गरेका थिए भने अन्य प्रतिकृयाहरु पनि दिएका थिए । तर दोश्रोपटक अमेरिकी राष्ट्रपति भइसकेपछि भने ट्रम्पले डाइभर्सिटी भिसा लोटरीबारे कुनै प्रतिकृया दिएका छैनन् ।
ट्रम्पले अघिल्लोपटक आफू राष्ट्रपति भएको बखत २०१७ मा रेज एक्ट नामको एउटा विधेयकलाई समर्थन समेत गरेका थिए । अमेरिकाको सिनेटमा पेश गरिएको यो विधेयक रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युले ल्याएका थिए । जसमा परिवारमा आधारित अध्यागमन मार्गहरूलाई नाटकीय रूपमा घटाउने, रोजगारीमा आधारित अध्यागमनको हालको मोडेललाई हटाउने र डाइभर्सिटी भिसा खारेज गर्ने लगायतका प्रावधान थिए । तर यो बिल पारित हुन भने सकेन । त्यस्तै अर्को बिल २०१८ मा पनि असफल भएको थियो ।
डाइभर्सिटी भिसा लोटरी कार्यक्रम अध्यागमन र राष्ट्रियता ऐन द्वारा स्थापित गरिएको थियो, यसको समाप्ति वा परिमार्जन केवल संसदले बिल पारित गरेमामात्र सम्भव छ । सन् १९९५ देखि ५७ हजार भन्दा बढी नेपालीहरूले डिभी चिठ्ठा मार्फत ग्रीन कार्ड प्राप्त गरेका छन्, जुन अमेरिकामा रहेका सबै नेपाली ग्रीनकार्ड प्राप्तकर्ताहरूको २५ प्रतिशत भन्दा बढी हो । नेपालीहरूलाई विश्वभर डिभी लोटरीबाट ग्रीन कार्ड प्राप्त गर्नेहरूमध्ये शीर्ष स्थानमा रहेका छन् ।
पछिल्ला वर्षहरूमा वार्षिक १० लाखभन्दा बढी नेपालीले डिभी कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । यो कार्यक्रममा सहभागी हुने नेपालीहरूको संख्या वर्षौंदेखि निरन्तर बढ्दै गएको छ। पासपोर्ट आवश्यक पर्ने वर्षहरूमा सहभागिता अस्थायी रूपमा घटेको भएपनि त्यसपछि भने सहभागितामा बृद्धि भएको छ ।
प्रतिकृया दिनुहोस