• २०८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025

अमेरिका पुगे मोदी, ट्रम्पसँग यी विषयमा हुनसक्छ सहमति

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली समयाअनुसार बिहीबार बिहान अमेरिका पुगेका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ। भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्।

मोदीले एक्समा लेखेका छन्, ‘यो चिसो मौसममा न्यानो स्वागत! वासिङ्टन डीसीमा यो चिसोको बावजुद भारतीय समुदायले मलाई विशेष स्वागत गरे। म उनीहरूप्रति आभारी छु।’

अमेरिका भ्रमणका क्रममा मोदीले ट्रम्पसँग भेटघाट, द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रिभोज गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

मोदीको भ्रमणका बेला दुई नेताहरूले अमेरिका-भारत रणनीतिक साझेदारीका आगामी कार्यदिशाबारे पक्कै केही समय बिताउने छन्।

मोदीले ट्रम्पका कैयौँ वरिष्ठ मन्त्रीहरूलाई भेट्ने छन्। उनले अमेरिकी अग्रणी व्यापारीहरू तथा भारतीय-अमेरिकी समुदायका सदस्यहरूसँग पनि कुराकानी गर्ने छन्। उनले स्पेसएक्स र टेस्लाका प्रमुख इलोन मस्कसँग पनि भेट्ने सम्भावना छ। मोदी भारतमा विद्युतीय गाडीको क्षेत्रमा विकास गर्न उत्सुक देखिन्छन्। उनी मस्कले भारतमा टेस्लाको कारखाना खोलेमा निकै खुसी हुने छन्।

तर ट्रम्प-मोदी मित्रता र रणनीतिक साझेदारीका कुराकानीले एउटा गम्भीर वास्तविकता छोपेको छ : मोदीको भ्रमणताका सम्बन्धको कारोबारी प्रकृति केन्द्रबिन्दुमा देखा पर्ने छ जहाँ दुवै नेता, अझ खास गरी ट्रम्पसँग मागहरूको सूची हुन सक्छ।

दिल्लीले ट्रम्पलाई राम्रै बुझेको छ। अहिले मोदीको मन्त्रिपरिषद्‌का कतिपय सदस्यहरू उनको अघिल्लो कार्यकालमा पनि थिए। त्यति बेला ट्रम्प आफ्नो पहिलो कार्यकाल सम्हाल्दै थिए। गत महिना भएको ट्रम्पको शपथग्रहण समारोहमा पनि यो चिनजान झल्किएको थियो : अनि दिल्लीले अमेरिकी आयातमा शुल्क घटाउन, गैरकानुनी भारतीय आप्रवासी फिर्ता लिन र अमेरिकी तेल किन्न तयार रहेको सार्वजनिक सङ्केत दिइसकेको छ।

उसले केही वस्तुमा आयात शुल्क घटाइदिसकेको छ भने गत साता पहिलो खेपमा विमानमार्फत् आइपुगेका १०४ गैरकानुनी आप्रवासी भारतीयहरूलाई स्वीकार गरिसकेको छ। भारतमाथि ट्रम्पले कुनै लक्षित मागहरू नगरून् अनि नयाँ ट्रम्प प्रशासनसँग तनावको सम्भावना घटाउन यी कदमहरू चालिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर