अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि यस्ताे बन्याे नेपाली टोली

काठमाडौं । घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपालको टोलीकाे टुगाे लागेकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय नेपालको अन्तिम टोली घोषणा गरेको हो ।
घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा माघ १९ गतेदेखि बन्द प्रशिक्षणमा रहँदै आएको छ । एन्फाले शुरुमा ३९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
दोश्रो चरणमा उक्त संख्यालाई ३० मा झारिएको थियो । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप यहि फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ ।
नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपाल किर्गिस्तानबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ । यसैगरी नेपालले दोश्रो खेल फागुन ८ गते लेबना र तेश्रो खेल ११ गते म्यानमारसँग खेल्ने छ ।
फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न लागेको हो।
नेपाली टोली:
गाेलकिपरः एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ
डीफेन्डरः अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई
मिडफिल्डरः अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल
प्रतिकृया दिनुहोस