जनप्रतिनिधि नै विरोधमा उत्रिए पनि प्यूठानको विकासमा आफु पछी नहट्नी मन्त्री राणाको भनाइ

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले विकास निर्माणको कार्यमा जनप्रतिनिधि र जिम्मेवार व्यक्तिहरू विरोधमा नाङ्गो रुपमा उत्रिएको बताएका छन् ।

शनिबार प्रेस नोट जारी गरेर नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले विकासको काममा केही जनप्रतिनिधि विरोधमा उत्रिएको बताएका छन् । विरोध भए पनि प्यूठान जिल्लाको विकासमा आफूले जनतासमक्ष बोलेका कुराहरू पूरा गरि छाड्ने बताए ।

उनले भने, ‘मैले सुनेको थिएँ, विकासको अवरोध गर्न तम्सिने केही अगुवा हुन्छन् भन्ने । तर, यसरी जिम्मेवार व्यक्ति र जनप्रतिनिधिहरू नै विकासको विरोधमा नाङ्गै उत्रने कल्पनासम्म थिएन ।’

‘यतिबेला मलाई प्यूठानको विकासका लागि जनताले दिएको जस्तै गरि तपाईं अगुवा भन्नेहरूबाट साथ र समर्थन चाहिएको थियो’, मन्त्री राणाले भने, ‘न कि ६ महिनाको समय तोक्ने, अदालतबाट रोक्छौ भन्ने वा अन्य अप्रत्यक्ष अबरोधहरू ।’

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा ९एमाले०को गठबन्धन सरकारले जनताको भरोसा जित्ने गरि काम गर्दा तपाईंहरूले पनि त्यसबाट सकारात्मक उर्जा लिने प्रयत्न गर्नुपर्नेमा सकेसम्म अबरोध र अविश्वास श्रृजना गर्न खोज्नु दुर्भाग्य हो ।’

‘दुवै पार्टीको राजनीतिक संयन्त्र र यो संयन्त्रले देखाउने बाटो मेरालागि मार्गनिर्देशक बन्ने म पुनः स्मरण गर्न चाहान्छु’, मन्त्री राणाले भने ।

‘प्यूठानबासीहरूमा मेरो प्रण, मेरो विकास अभियान, मेरो विकास एजेन्डा कसैले जतिसुकै अबरोध गर्ने प्रयत्न गरेपनि कुनै हालतमा नरोकिने वरु थप उर्जाशील बनेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै प्यूठानको विकास यस पटक यसै पटक शुरु गर्ने बाचा गर्दछु’, राणाले भने ।

मन्त्री राणाले भने, ‘अघिल्लो पटक सरकारमा उद्योग तथा यातायात मन्त्री रहँदा मन्त्री परिषदबाट बाग्दुला–बाहाने–स्याउलीबाङ सडकको लागि ४२ करोड स्वीकृत गराएर अहिले १३ करोडको काम भइरहेको छ ।’

‘दुई दिनअघि मात्र त्यहाँ स्थलगत अनुगमन गरि अप्ठ्यारो पहिरो फोर्न लगानी सहजीकरण गर्ने प्रतिवद्धता गरेको छु’, उनले भने ।

‘प्यूठानको बाग्दुलादेखि मच्छीसम्मको सडक बहुदल आउनुभन्दा पनि अगाडिदेखि सञ्चालनमा आएको सडक हो’, राणाले भने, ‘अहिलेसम्म कसैको खास ध्यान त्यता नपुगेको गुनासो निर्वाचनका क्रममा झिमरुक र गौमुखीबासीले गर्नुभएको थियो ।’

‘प्यूठान नगरपालिकाका– २, झिम्रुक गाउँपालिकाका– ८ र गौमुखी गाउँपालिकाका– ७ गरि १७ वडा, अर्घाखाँची, गुल्मी र बाग्लुङसम्म सहज यातायात प्रवाह गर्ने उक्त सडक निर्माण प्रतिवद्धताअनुसार हाम्रो पदयात्रापछि प्रदेश सरकारले ५ करोडको बहुवर्षीय योजना स्वीकृत गरिसकेको छ । केही दिनभित्र टेन्डर प्रक्रियामा जाँदै छ’, उनले भने ।

‘त्यस बाहेक आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा लुम्बिनी प्रदेश सरकारले त्यो सडक कालोपत्रे गर्नका लागि आवश्यक बजेट विनियोजन गरि कार्य सम्पन्न गर्ने तर्फ लाग्नेछु’, मन्त्री राणाले भने ।

उनले भने, ‘प्यूठानमा थुप्रै खानेपानीका योजनाहरू भएर पनि बजेट अभावमा अबरुद्ध रहेकोमा आउने वर्ष अधिकांश योजना सम्पन्न गर्ने गरि बजेट सुनिश्चितता गर्न मेरो नेतृत्वको लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालय प्रयत्नशील रहेको छ ।’

‘जनगुनासो सुन्ने र गुनासो नआउने गरि काम गर्ने हाम्रो प्रयत्नमा तगारो हाल्ने बाध्यता तपाईंहरूलाई किन परेको छ, मैले बुझ्न सकेको छैन’, मन्त्री राणाले भनेका छन् ।

प्यूठान जिल्लाबाट एमालेबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सूर्यबहादुर थापाले तीब्र रुपमा भइरहेका विकास निर्माणप्रति व्याङ्ग्य गर्दै आलोचनामा उत्रिएका बेला मन्त्री राणाको प्रतिवद्धता बाहिर आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर