सात वुंदे घोषणापत्र जारी गर्दै स्थानीय युवा परिषद उपाध्यक्षहरुको प्रथम सम्मेलन सम्पन्न

धुलिखेल। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद र युवालयको आयोजनामा हालसम्म गठन भएका देशभरका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ। सम्मेलनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न सर्वपक्षीय पहलका लागि आव्हान गरेको छ । तीनदिनसम्म चलेको सम्मेलनमा हालसम्म औपचारिक रुपमा गठन भएका देशभरका तीसवटा स्थानीय युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा सशक्तिकरणको लागि संघ, प्रदेश र स्थानीय तहमा समन्वय र सहकार्य वढाउन सम्मेलन आयोजना गरिएको वताए। बस्नेतले भने-' युवाहरुलाई आफ्नै देशभित्र सकारात्मक आशा र उर्जा वढाउन ७५३ वटै पालिकामा स्थानीय युवा परिषद्को गठन गर्नुपर्दछ।' बस्नेतले युवा सशक्तीकरण र अर्थपूर्ण सहभागिताका लागि जहांजहां कार्यकारी सरकार , त्यहांत्यहां युवाका संरचना आवश्यक रहेको वताए।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्सालले विद्यमान जनसाङ्ख्यिक लाभांसको सदुपयोग गर्न युवा मैत्री शासन र सशक्तिकरणमा मन्त्रालय तदरुकताका साथ लागिरहेको वताए। लम्सालले चांडै राष्ट्रिय युवा नीति २०८१ जारी गर्न लागिएको जानकारी दिए। सम्मेलनमा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले नेपाली युवाका मुद्धा अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गर्न लागिएको वताए। गौतमले युवाका संरचना वनेपनि स्रोत ब्यवस्थापन हुन नसकेको जिकिर गरे।
सहआयोजक युवालयका अध्यक्ष धर्मराज रिमालले युवालाई नीति निर्माण र कार्यान्वयनको केन्द्रमा राख्न आवश्यक रहेको वताए। युवा नीति र कार्यक्रमहरूमा युवाको आवाजलाई प्राथमिकता दिन सम्मेलनले सर्वपक्षीय आव्हान गरेको रिमालले वताए। उनले भने-' युवाहरू देशको वर्तमान र भविष्य हुन् । तिनको सशक्तीकरण र अर्थपूर्ण सहभागिता नै देशको समृद्धिको आधार हो ।'
तिनदिने सम्मेलन पश्चात् जारी गरिएको ध्यानाकर्षणपत्रमा ७५३ वटै पालिकामा स्थानीय युवा परिषद गठन गर्न आह्वान् गरिएको छ। यस्तै सम्पूर्ण राजनैतिक दलको कमिटीगत संरचनाहरूमा अनिवार्य ४० प्रतिशत युवाहरूको सहभागितालाई सुनिश्चित गर्न माग गरिएको छ। सम्मेलनले स्थानीय युवा परिषद् गठन भएका स्थानीय तहहरूमा युवाहरूलाई अर्थपूर्ण सहभागिता प्रवर्द्धनका लागि युवा लक्षित बजेट तथा कार्यक्रम व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ। राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवाका रुपमा परिभाषित गरेको छ । देशमा युवाको जनसंख्या १ करोड २४ लाख १२ हजार १७३ (जनसंख्याको ४२.५६ ) प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहोस