विश्वका १५९ मुलुकसँग नेपाल वैदेशिक व्यापारस् ३५ बाहेक सबैसँग घाटा

काठमाडौं । नेपालले ७ महिनामै ११ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । विश्वका डेढ सय बढी मुलुकसँग नेपाल द्धिपक्षीय व्यापार गर्दै आएको छ । तर, अधिकांश मुलुकहरुसँग भने ठुलो आकारमा व्यापार घाटा व्यहोर्दै आएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा नेपालले १५९ बढी मुलुकसँग ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
समिक्षा अवधिमा नेपालले कुल ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको बस्तु आयात गरेको छ । तर, १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । ७ महिनामै नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्याहोरेको छ ।
विभागका अनुसार एक वर्षको अवधिमा व्यापार घाटा थप ५० अर्ब बढेको देखिन्छ । आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा नै नेपाल वर्षेनि खरबौं व्यापार घाटा खेप्दै आएको छ ।
विभागका अनुसार ७ महिनामा १५९ वटा बढी मुलुकसँग व्यापार गरेको छ । ती मध्ये ३४ वटा देशसँग मात्रै नाफामा देखिन्छ । तर, १२४ वटा बढी मुलुकसँग घाटामा छ ।
नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ । ७ महिनामा भारतसँगको व्यापार घाटा ४ खर्ब ९८ अर्ब ३४ करोड ५० लाख रुपैयाँ छ । समिक्षा अवधिमा भारतबाट नेपालले ५ खर्ब ९६ अर्ब ३५ करोड २६ ला खरुपैयाँ बराबरको आयात गरेको छ । तर, ९८ अर्ब ७५ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।
नेपालले भारतबाट पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास, औद्योगिक कच्च पदार्थ मोटर गाडी आयात गर्दै आएको छ। यसका साथै विद्युतीय उपकरण, खाद्य सामग्री, लत्ता कपडा, औषधी र घरेलु उपकरण सामग्रीहरुले ठुलो मात्रामा आयात गर्दै आएको छ । नेपालबाट भारततर्फ विद्युत, सिमेन्ट, गिट्टी, बालुवा, फलाम तथा इस्पात सामग्री, प्लाइउड, हस्तकला सामग्रीहरु चिया, अदुवा मसला लगायत सामान निर्यात हुँदै आएको छ ।
भारतपछि चीनसँग ठुलो व्यापार घाटा छ । ७ महिनामा चीनसँगको व्यापार घाटा १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा चीनबाट १ खर्ब ९२ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ । तर, २ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
चीनबाट भने नेपालले ठुलो मात्रामा विद्युतीय सामग्री आयात गर्दै आएको छ । यस्तै, मोबाइल, टिभी, ल्यापटप, टिभी, क्यामेरा, औद्योगिक कच्च पदार्थ, बिजुली उपकरण, निर्माण कार्य, कृषि तथा उद्योगहरुका लागि आवश्यक मेसिनरी सामग्री आयात गर्दै आएको छ । नेपालबाट भने भारत, चीन लगायत विश्वका विभिन्न मुलुकले कृषिजन्य वस्तुहरु, वनस्पति उत्पादन, खनिज तथा उद्योगजन्य उत्पादनहरु लैजान्छ ।
समिक्षा अवधिमा अर्जेन्टिनासँग ३५ अर्ब ७१ करोड ३८ लाख, युक्रेनसँग १५ अर्ब ३८ करोड ६६ लाख, युएईसँग १३ अर्ब ७९ करोड ६१ लाख, अष्ट्रेलियासँग १० अर्ब १३ करोड ७ लाख रुपैयाँ व्यापार घाटा रहेको छ । यता, थाइल्याण्डसँग पनि ८ अर्ब ४७ करोड, मलेसियासँग ८ अर्ब ४० करोड, फ्रान्सको ५ अर्ब ४९ करोड, कतारसँग ५ अर्ब, अमेरिका, ४ अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा छ । यी बाहेक १११ वटा मुलुकसँग पनि व्यापार घाटा नै छ ।
प्रतिकृया दिनुहोस