• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

सेनाले पत्रकार सम्मेलन गरेरै भनेकाे नयाँ सुरक्षा चुनौती के हाे ?

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रवार आयोजित पृतनापति समन्वयात्मक बैठकबाट सो निष्कर्ष निकालिएको सैनिक अधिकारीहरू बताउँछन् ।

पृतनापति समन्वयात्मक बैठकपछि सेनाले पत्रकार सम्मेलन गरेर अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । 

आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका उपरथी प्रेमध्वज अधिकारीले भू–राजनीतिको असर नेपालमा पनि पर्ने र परिरहेको बताए । उनले भने– ‘त्यसमा कसरी अघि बढ्ने भन्नबारे अहिले चिन्तन गर्दैछौँ ।’

पछिल्लो समय अमेरिका र युक्रेनको बिचमा देखा परेको उतार–चढावले नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना हुनसक्ने सेनाको निष्कर्ष छ । सैनिक प्रवक्ता (सहायकरथी) गौरवकुमार केसीले अन्तर्राष्ट्रिय गतिविधि बुझ्ने र प्रभावबारे अध्ययन गरिरहेका बताएका छन् ।

फागुन ८ मा पृतनापति समन्वयात्मक बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पनि विश्वको विभिन्न स्थानमा चलिरहेको द्वन्द्वले नेपालमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताए । उनले भनेका छन्, ‘जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने अवस्था छ ।’

बैठकमा सैनिक विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा  पृतनापतिहरू सहभागी थिए । बैठकमा सिपाहीका समस्या र तालिममा गर्नुपर्ने सुधार लगायतका विषमा छलफल भएर सैनिक प्रवक्ता केसीले बताए । उनले भने– ‘पृतनापति समन्वयात्मक बैठकमा सेनाका समस्या र चुनौतीका विविध विषयमा छलफल भए ।’

बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण भएको बताएका थिए । उनले भनेका थिए– ‘आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना छ ।’

सिग्देलले भविष्यका सुरक्षा चुनौतीहरू सामान गर्न विभिन्न रणनीतिक तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउनुपर्ने बताएका थिए । 

यसैबीच आइतबार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले शान्ति स्थापनाका लागि गरेको योगदानबारे जानकारी दिएको छ।

कार्यक्रममा युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेको र ६९ सैनिक घाइते भएर आजीवन असहज जीवनयापन गरिरहेका बताए।

उनले भने, “संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि नेपाली शान्ति सैनिकहरूको ठूलो भूमिका रहेको छ। हाल ११ वटा मिसनमा ६४२ जना महिला सैनिकसहित कुल ५,९१३ नेपाली सैनिक खटिएका छन्। यसले नेपाललाई महिला र पुरुष शान्ति सैनिक पठाउने अग्रणी राष्ट्रको रूपमा उभ्याएको छ।”

नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि ९,००० सेना परिचालन गरेको पनि जनाएको छ।

यस्तै, मित्रराष्ट्रका सेनासँग सैनिक तालिम, उच्च अधिकारीहरूको भ्रमण र समन्वयात्मक बैठकमार्फत सैन्य कूटनीतिक गतिविधि विस्तार गरी अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने काम भइरहेको सेनाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर