• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

देशकै होचो भूभागबाट पार्टीलाई अग्लो बनाउने प्रचण्डको घोषणा


झापा । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई बलियो बनाउन र सुशासन कायम गर्न नदिने तत्व विरुद्ध नेपाली जनता एक हुनुपर्ने बताएका छन् । नेपालकै सबैभन्दा होचो भू–भाग झापाको कचनकवल स्तम्भमा आज बिहान झण्डोत्तोलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अराजकता र अस्थिरता कायम गर्ने तत्वहरूका विरुद्ध पनि देशका जनता एकजुट हुनुपर्ने बेला आएको बताए ।

‘कुनै बेला झापा विद्रोह, क्रान्ति र न्यायको प्रतीक जिल्लाको रूपमा चिनिन्थ्यो । तर अहिले झापाको त्यो पहिचान र इतिहास मर्ने हो कि भन्ने खतरा बढेको छ । झापालाई फेरि पनि क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतीककै रूपमा बनाइराख्नका लागि माओवादीमाथि त्यो जिम्मेवारी आइपरेको छ,’ प्रचण्डले भने । नेपालको होचो भू–भागबाट सबैभन्दा अग्लो भू–भागमा पार्टीलाई पुर्‍याउने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसैका लागि पार्टीले झापाबाटै यो अभियानको सुरुवात गरेको हो ।’

प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताए ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखे ।

उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा  सम्बोधन गर्न सकिने बताए । कोच, शेर्पा लगायत धेरै सनुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उनले स्पष्ट गरे ।

जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई तस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताए । बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे।

अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताउनुभयो। त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्व र बलियो बन्नुपर्ने बताए ।

कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन, चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनु र आदिवासी समुदायको नेतृत्व गर्न अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरुलाई सुझाव दिएका थिए। झापाको यो क्षेत्रमा राजबंशी, गनगाइ, माझी, मुसलमान लगायतका आदिवासीको बसोबास रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर