कचनकवलबाट माओवादीको तराई–मधेश जागरण अभियान सुरु

झापा । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापाबाट सुरु भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट उद्घाटन गरे।
अभियानको उद्घाटन गर्दै उनले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताए।
हजारौँ वीर शहीदहरुको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए। माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन। तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन। तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरतार बलिदानका धेरै कीर्तिमानहरु कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मत्रै यो परिवर्तन सम्भव भएको हो। अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ। अहिलेको संविधानमा एकथरी मान्छेहरुले त्यसको प्रश्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन्।’
प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादी केन्द्रले जनाएको छ।
दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले बताएका छन्।
कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सहभागी छन्।
प्रतिकृया दिनुहोस