कांग्रेस–एमाले सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागे: लिङदेन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैतदेखि वर्तमान व्यवस्थाविरुद्ध लडाइँ लड्ने उद्घोष गरेका छन् । उनले कांग्रेस–एमालेको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाउँदै यो व्यवस्था विरुद्धको आन्दोलन आवश्यक रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार बुटवलमा गरेको जागरणसभामा लिङ्देनले ठूला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारलाई संरक्षण गर्न बनाएको आरोप लगाए ।

'सत्तारूढ दल सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागिरहेका छन्,’ उनले भने, ‘यी दल सुध्रने कुनै सम्भावना छैन, समय खेर नफालौं, व्यवस्था परिवर्तन गर्न लागौं ।’

अध्यक्ष लिङदेनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि आन्दोलनको तयारीमा रहेको समेत बताए ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजसंस्था सहितको प्रजातन्त्र अहिलेको आवश्यता रहेको बताए । उनले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताउँदै संवैधानिक रुपमा राजा अपरिहार्य रहेको जिकिर गरे ।

‘राजा देशको मालिक हुन्, नेता भँडुवा हुन्,’ शाहीले भने,‘भ्रष्टाचार गर्न र मुलुकलाई कंगाल बनाउने विरुद्ध आन्दोलन गरौं ।’ राप्रपाले चैतदेखि काठमाडौंमा व्यवस्था परिवर्तनको ऐजेन्डासहित आन्दोलन गर्ने बताए ।

जागरणसभामा उपाध्यक्ष विक्रम पाण्डे, अर्का उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, पूर्वमन्त्री निरञ्जन थापाले गणतन्त्र र धर्मनिरपेक्षता ०६२/०६३ सालको जनआन्दोलनको एजेन्डा नै नरहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर