आविष्कार केन्द्रले सरकारी अस्पतालका ५ सय उपकरण मर्मत गर्यो

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका ४ सय ८४ उपकरण मर्मत गरेको छ । करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरण मर्मतपछि प्रयोग हुन थालेका छन् ।
१० सरकारी अस्पतालमा ४–५ वर्षदेखि प्रयोगविहीन उपकरण मर्मत, नयाँ किन्नुपरेको भए २४ करोड रुपैयाँभन्दा बढी खर्च लाग्थ्यो ।
केन्द्रले न्यूनतम खर्चमा ३६ भेन्टिलेटर, २३ डायलासिस मेसिन, ७ एनेस्थेसिया मेसिन, १० भिडियो एक्सरे १० र ८ अटो क्लेभ मेसिन मर्मत गरेको छ । ब्लडप्रेसर मनिटर १८, ईसीजी मेसिन ३० र पेसेन्ट मनिटर ५५ वटा पनि मर्मतपछि सञ्चालनमा आएका छन् ।
डेन्टल तथा सर्जिकल सामान रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, आईसीयूरसीसीयूका सामान पनि मर्मत गरिएको छ । वटी लाइटरटेबल, इन्फ्युजन पम्प, आईसीयूरपेसेन्ट बेड, माइक्रोस्कप, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटरलगायत मेसिन पनि केन्द्रले मर्मत गरिदिएको छ ।
आविष्कार केन्द्रले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन मानसिक अस्पताल, नेपालगन्जको भेरी अस्पताल, वीरगन्जको नारायणी अस्पताल, तनहुँको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकरण मर्मत गरेको हो । ती उपकरण चीन, अमेरिका, जर्मनी, भारत, कोरिया, नेदरल्यान्ड्सलगायत मुलुकबाट खरिद गरिएका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १७ संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापनका लागि गत भदौमा सम्झौता गरेका थिए ।
प्रतिकृया दिनुहोस