ओलीलाई पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट एकतामा लाग्नुस भन्नुकाे अर्थ के ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।
सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले भूमिका खेलेको र आगामी दिनमा पनि त्यसमा लाग्न सुझाएकी हुन् ।
राजनीतिक दलले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने भण्डारीको भनाइ थियो । उनले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनैपनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।
'यस पार्टीसँग जनआधारित, अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यको व्यापक बिस्तारित पंक्ति अनुभवी, संयमित र दृढ संकल्पित नेतृत्व तह र समृद्धि हासिलमा मार्ग दर्शन गर्ने अनुबोधित मौलिक सिद्धान्त छ,' भण्डारीले भनिन्, 'मुलुकको राजनीति, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनुभएको पार्टी नेकपा एमालेको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । अध्यक्ष ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिककरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु । भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।’
२०७४ को प्रतिनिधिसभा निर्वाचनताका एमाले र माओवादीबीच एकता भएको थियो । त्यो एकतापछि नेपाल कम्युनिस्ट पार्टी गठन भई प्रतिनिधिसभामा झन्डै दुई तिहाई बहुमत प्राप्त भएको थियो भने प्रधानमन्त्रीमा ओली निर्वाचित भएका थिए । नेकपामा विवाद आएपछि पार्टी फुटेको थियो ।
आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी प्रधानमन्त्री ओलीमा रहेको भण्डारीको भनाइ थियो ।
भण्डारी माअाेवादीसहितकाे बलियाे कम्युनिष्ट पार्टीकाे पक्षमा छिन् । एमाले भित्र पनि समग्र कम्युनिष्ट एकता गर्नेगरी भण्डारीलाइ राजनीतिमा फर्काउनु पर्ने माग उठिरहेकाे छ । भण्डारीकाे बाेलीकाे अर्थ साेही दिशामा हुनसक्ने कतिपयले अड्कल गरेका छन् ।
प्रतिकृया दिनुहोस