• २०८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 4 March, 2025

माओवादी जातीय अतिवाद हैन, उत्पीडितहरुको समान अधिकारको पक्षमा छः पुन

कैलाली । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल जातीय अतिवादको पक्षमा नरहेको बताएका छन् । 

पार्टी सम्वद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथौ राष्ट्रिय सम्मेलन उदघाटन समारोहलाई मंगलबार टीकापुरमा सम्बोधन गर्दै पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाति र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने आफूहरुको नीतिका आधारमा सामन्ती एकाधिकारवादी र पुँजीपतिहरुले गलत आरोप लगाउने गरेको बताए । 

प्रचण्डको नेतृत्वमा उत्पीडित वर्ग, समुदाय तथा कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका जनतालाई एकताबद्ध गरेर मुलुकमा सामन्ती व्यवस्थाको पर्यायका रुपमा रहेको राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पुनको भनाइ थियो । ‘मजदुर, किसान, श्रमिक, महिला, दलित, जनजाति, मधेसी, थारु समुदाय, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका उत्पीडित जनतालाई संगठित र एकताबद्ध गरेर उनीहरुकै बलमा  देशमा गणतन्त्र स्थापना भएको हो’ पुनले भने । 

तत्कालीन सामन्ती राजतन्त्रात्मक सत्ताले ‘फुटाउ र शासन गर’ को नीतिअन्तर्गत उत्पीडित समुदाय र वर्गलाई अलग अलग गरेर शासन टिकाएको तर, माओवादी जनयुद्धले उनीहरुलाई एकताबद्ध गरेपछि राजतन्त्र समाप्त भएको पुनले दाबी गरे । 

उनले अझै पनि आन्दोलनका उपलब्धीको रक्षा र थप उपलब्धीका लागि उत्पीडित वर्ग र समुदायबीच बलियो एकता जरुरी रहेको औंल्याए । जनयुद्ध र त्यसको जगमा भएको ०६२÷०६३ को जनआन्दोलनबाट उत्पीडितहरुले प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्ने र सबै थोक प्राप्त भइसक्यो भन्ने दुईथरी अतिवादी प्रवृत्ति सही नभएको उनको भनाइ थियो ।

‘उत्पीडित जाति, वर्ग र समुदायलाई केही पनि प्राप्त भएको छैन, हिजोकै अवस्था छ भनेर भड्काउन खोज्ने  अति जातिवादी सोच र पुरै प्राप्त भयो भनेर समर्पण गराउन खोज्ने यथास्थितिवादी प्रवृत्ति दुवै सहतमा देखिने गरेको छ’, उनले भने, ‘तर, हाम्रो अतिवादी र जातिवादी दुवै सोचभन्दा फरक धारणा छ । हामी प्राप्त भएको उपलब्धीको स्वामित्व लिने र समाजवादी गणतन्त्रमार्फत थप अधिकार सम्पन्न बनाउने नीतिका साथ अघि बढेका छौं ।’ 

उनले जातीय अतिवाद र सत्ताधारीहरुको संकीर्णताविरुद्ध उत्पीडित समुदायलाई एकताबद्ध गर्नुपर्छ भन्ने मान्यता माओवादी केन्द्रको भएको पुनको प्रष्टीकरण थियो । उनले आफूहरु सधैं मधेसी र पहाडी लडाउने र एक जातविरुद्ध अर्को जातलाई उकास्ने शासक वर्गको नीतिविरुद्ध उभिँदै आएको बताए ।

‘हामी जातिवादी र अतिवादी होइनौं । हामी नेपालका सबै जातजाति, समुदायबीच आपसी एकता, सदभाव र समान हकअधिकार हुनुपर्ने भन्ने हाम्रो नीति हो । पहाडी र मधेसी लडाउनेहरु जातिवादी र अतिवादी हुन् । माओवादी पहाडी, मधेसी, थारु लगायत सबै उत्पीडित जाति जनजाति र वर्गको पार्टी हो’, पुनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर