जेलेन्स्की–ट्रम्प सम्बन्ध सुधारउन्मुख, मिलेर जाने संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र उनी युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘मैले जेलेन्स्कीबाट पत्र प्राप्त गरेको छुँ । पत्रमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेका छन्,’ ट्रम्पले भने ।
ट्रम्पले जेलेन्स्कीको पत्र पढ्दै युक्रेन दिगो शान्तिका लागि चाँडै वार्तामा वस्न तयार भएको बताए । जेलेन्स्कीले अमेरिकाबाट युक्रेनको सुरक्षा ग्यारेन्टीको बदलामा खनिज सम्झौता गर्न तयार भएका हुन् ।
ट्रम्पलाई लेखेको पत्रमा जेलेन्स्कीले ‘म र मेरो टोली दिगो शान्तिको लागि ट्रम्पको बलियो नेतृत्वसँग मिलेर काम गर्न तयार रहेको’ जनाएका छन् । ‘खनिज र सुरक्षा सम्बन्धी सम्झौतामा युक्रेन तपाईंलाई सुविधाजनक हुने समयमा हस्ताक्षर गर्न तयार छ,’ जेलेन्स्कीले लेखेका छन् ।
अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत ह्वाइट हाउसमा भएको वादविवाद पश्चात्तापयोग्य भएको जनाएका छन् । वार्ताका लागि तयार नभएको ट्रम्पको आरोपपछि जेलेन्स्कीले अब सबै कुरा मिलाउने समय आएको टिप्पणी गरेका छन् ।
‘हामी युद्ध अन्त्य गर्न तयार छौं । त्यसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रमाथिको प्रतिबन्ध, लामो दूरीमा प्रहार गर्न सकिने ड्रोनमाथि प्रतिबन्ध तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारमा आक्रमण रोक्ने हुन सक्छ,’ जेलेन्स्कीले लेखेका छन् । यी सर्तहरू रुसले पनि पालना गरे समुद्रमा पनि युद्धविराम गर्न सकिने उनको भनाइ छ ।
सामाजिक सञ्जालको पोस्टमा जेलेन्स्कीले शुक्रबारको बैठक सोचे जस्तो नभएको स्वीकार गरेका छन् । भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुनेमा आफू विश्वस्त रहेको जेलेन्स्कीको भनाइ छ ।
जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई दिएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । ‘युक्रेनको सार्वभौमिकता र स्वतन्त्रता जोगाउन अमेरिकाले गरेको सहयोगलाई हामीले अत्यन्तै मूल्यवान् ठानेका छौँ,’ जेलेन्स्कीले लेखेका छन् ।
गत शुक्रबार ह्वाइट हाउसमा भएको वार्ताका क्रममा जेलेन्स्कीको ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की भएको थियो । जसका कारण दुई देशबीच हुने भनिएको 'रेयर अर्थ' सहितका युक्रेनी खनिजमा अमेरिकालाई पहुँच दिने सम्झौता भाँडिएको थियो ।
कुराकानीका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाएका थिए ।
प्रतिकृया दिनुहोस