बन्धकहरु मुक्त नगरे हमासका सबै सदस्यहरुलाई नर्क पठाइदिने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासका सबै सदस्यहरुलाई नर्क पठाइदिने चेतावनी दिएका छन ।
गाजामा बन्धक बनाइएका सबै व्यक्तिहरुलाई तुरुन्त मुक्त नगरे हमासले गम्भीर परिणाम भोग्नु पर्ने उनले भनेका छन । ‘जिवितलाई मुक्त गर मारिएका छन भने शव हस्तान्तरण गर अन्यथा मृत्यु रोज’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन ।
गाजाका बासिन्दाहरुलाई पनि बन्धकलाई लुकाएर नराख्न ट्रम्पले चेतावनी दिएका छन । बन्धक लुकाएर राख्नेहरु पनि निशानामा पर्ने उनले बताए । युद्धविरामको दोस्रो चरणलाई हमासले अस्वीकार गरेपछि ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।
हमासलाई अमेरिकाले आतंकवादी सूचिमा राखेको भएपनि बन्धक रिहा गराउने सवालमा हमसासँग वार्ता गरेको ट्रम्पले स्पष्ट पारेका छन । हमास नेतृत्वलाई अझै मौका रहेको ट्रम्पले बताए ।
हमासलाई ट्रम्पले धम्की दिएको यो पहिलो पटक भने होइन । २०१९ डिसेम्बरमा उनले बन्धकहरू छोडिएन भने सबैलाई नर्कमा पठाइने चेतावनी दिएका थिए ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटले अमेरिका हमाससँग प्रत्यक्ष वार्ता गरेको पुष्टि गरेकी छन ।
इजराइलले गाजा क्षेत्रमा अझै ५९ बन्धकहरू रहेको बताएको छ । जसमा २४ जनासम्म जीवित रहेको विश्वास गरिएको छ । अमेरिकी नागरिकहरू पनि यसमा समावेश छन् ।
पूर्व अमेरिकी मध्य पूर्वका उप सहायक रक्षा सचिव मिक मुल्रोयले अमेरिका आफ्नो नागरिकहरूलाई फर्काउन अधिक सक्रिय हुन आवश्यक रहेको बताएका छन ।
प्रतिकृया दिनुहोस