ट्रम्पलाई सीको काउण्टरः- 'जुनसुकै युद्धका लागि तयार छौँ'

एजेन्सी । डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्कपछि क्रुद्ध चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ।
अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न तयार रहेको बताएको हो।
चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
"यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ," मङ्गलवार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले 'एक्स'मा रिपोस्ट गरेको छ।
ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो। राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ।
बुधवार चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७.२% ले बढाइने घोषणा गरे।
उनले "विश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको" चेतावनी पनि दिए। यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ।
चिनियाँ नेताहरू व्यापार युद्धको जोखिमका माझ समेत आफूहरू देशको अर्थतन्त्र विस्तार गर्न सकिनेमा विश्वस्त रहेको सन्देश जनतालाई दिन चाहन्छन्।
अमेरिकाको तुलनामा आफ्नो देश एक स्थिर र शान्त मुलुक भएको छवि प्रस्तुत गर्न चीन लालायित रहँदै आएको छ। अमेरिका मध्यपूर्व र युक्रेनमा फसेको उसले बताउने गर्छ।
क्यानडा र मेक्सिकोजस्ता साझेदार मुलुकविरुद्ध समेत आयातशुल्क थोपर्ने ट्रम्पको कदमबाट बेइजिङ फाइदा लिन चाहन्छ र धेरै चर्का कुरा गरेर सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन।
बेइजिङमा प्रधानमन्त्रीको भाषणमा चीन थप खुला हुने र थप विदेशी लगानी आकर्षित गर्ने विषयमा जोड दिइएको थियो।
यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएको छ।
ट्रम्पको कदमलगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनमा फेब्रुअरीमा जस्तै १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ।
चीनले विगतमा पनि आफू युद्ध गर्न तयार भएको बताएको थियो।
गत अक्टोबरमा राष्ट्रपति सी जिन्पिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए। त्यस बेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो।
तर युद्धका निम्ति तयारी गर्नु र युद्धमा होमिनु भिन्नै कुरा हो।
प्रतिकृया दिनुहोस