रिंकु मृत्यु प्रकरण : वडा सदस्यसहित ४ जना पक्राउ

सिरहा । सिरहाकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् । रिंकु बलात्कृत भएपछि घटना दबाउन गाउँमै पञ्चायत गर्ने वडा सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। 

सिरहा प्रहरीका प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले वडा सदस्यसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेहरुमा वडा सदस्य नथुनी साहसहित राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जना छन्। 

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केको बेला नवराजपुर गाउँपालिका १ भगवतीपुरकी रिंकुलाई तीन जनाले अपहरण गरेर सामूहिक बलात्कार गरेका थिए । 

उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए । पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।


इलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ । 

जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन् । यस बाहेक उजुरी परेका तीन जना अझै फरार छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर