मानिस सुतिरहेकाे टहरामा टिपर पस्यो, ३ जनाको मृत्यु

काठमाडौं । साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान ३:४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा उक्त घटना भएको साँखु प्रहरीले जनाएको छ।
आश्रयस्थलका १० जना सुतिरहेको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो।
टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शंखरापुर नगरपालिका-६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची-१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्।
उक्त अनाथालय युबराज थापाले संचालन गर्दै आएका छन्। टहरामा जम्मा ६१ जना बस्छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए।
मृतकको माथि उल्लेखित नाम संस्थाले नै राखेको हो। उनीहरुको अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ।
टिपरको ठक्करबाट घाइते भएका ती व्यक्तिलाई तत्काल उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको थियो। तीनै जनालाई अस्पतालले मृत घोषणा गरेको हो।
प्रतिकृया दिनुहोस