• २०८१ फाल्गुण २७ मंगलबार
  • Tuesday, 11 March, 2025

तपाईंमा मोटोपन छ ? हुनसक्छन् यस्ता समस्या

काठमाडौं । ३० वर्ष कटेपछि नियमित रूपमा तौल परीक्षण गरिरहनुपर्छ। तौल बढ्नेबित्तिकै त्यसलाई घटाउनेतर्फ सोच्नुपर्छ।

बिहान, दिउँसो अथवा बेलुकीमध्ये कुनै पनि वेलाको खाना छाड्नु हुँदैन। छोटो–छोटो समयमा केही खाइरहनु पर्छ। धेरै बेरसम्म पेट खालि भयो भने ग्यासको समस्या हुन्छ।

दिउँसोको खाना खानुभन्दा करिब आधा घण्टाअघि केही फलफूल खानुपर्छ। हामीले खाएको खाना पचाउन फलफूलले सहयोग पुर्‍याउँछ । खालि पेटमा फलफूल खानाले शरीरमा उर्जा प्राप्त हुन्छ।

सामान्यतया दिनको करिब ८ देखि १० गिलास पानी पिउनुपर्छ। खाना खाँदा भने पानी पिउनु हुँदैन। पानी पिउनै पर्छ भने खाना खानुभन्दा कम्तीमा १५ मिनेट अघि वा पछि पिउनुपर्छ।

खाना खाँदा राम्ररी चपाउनु पर्छ। खानाको प्रत्येक गाँस कम्तीमा ३५ देखि बढिमा ५० पटकसम्म चपाउनु पर्छ। हामी खानालाई चपाउन जति समय खर्च गर्छौं, त्यति नै कम क्यालोरी शरीरले ग्रहण गर्छ।

खाना खाने वेलामा अन्य कुरामा ध्यान दिनु हुँदैन। खाना खाँदा अरु कुरामा ध्यान दिँदा खानाबाट ध्यान अन्यत्र जान्छ भने हामीले आवश्यकता भन्दा बढी खाना खाइरहेका हुन्छौँ।

राति ८ बजेपछि गरिष्ट खाना खानु हुँदैन। डिनरमा सकेसम्म कम क्यालोरीयुक्त खाना खानुपर्छ। सकेसम्म  झोल पदार्थमा बढी जोड दिनु पर्छ।

बिहान वा साँझ, हरेक दिन हिँड्नुपर्छ। कम्तीमा २५ मिनेटसम्म लगातार हिँड्नु पर्छ। एक किलोमिटर हिँड्न १० मिनेटभन्दा बढी समय लगाउनु हुँदैन। हरेक दिन एकै स्थानमा हिँड्नु हुँदैन। हरेक दिन भिन्न भिन्न दिशातर्फ हिँड्नुपर्छ।

एकै पटक ३० मिनेटसम्म व्यायाम गर्ने समय छैन भने दिनको तीन पटक १०,१० मिनेटका दरले व्यायाम गर्न सकिन्छ।

फास्ट फुड र जंक फुड नखाएकै राम्रो । क्यान फुड, प्याक्ड फुड, फोजन फुड तथा ‘ओभर कुक्ड फुड’बाट बच्नु पर्छ । यिनको साटो फलफूल, जुस  खान सकिन्छ। हरेक दिनको खानामा फलफूल, हरियो सलाद आदि समावेश गर्नुपर्छ।

उच्च आय भएका देशमा मात्र देखिएको मोटोपनको समस्या कम र मध्यम आय भएका देशमा तीव्र गतिमा बढ्दै छ । 

नेपालमा पनि मोटोपनको समस्या तीव्र गतिमा बढ्दो छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कअनुसार सन् २००० देखि २०१६ मा नेपालमा बालबालिकामा मोटोपन ७.७ प्रतिशतले बढेको थियो । जुन विश्वकै उच्च दरमध्ये एक हो । वयस्कमा मोटोपन ३.२ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ । 

बालबालिकामा  बडी मास इन्डेक्स (बिएमआई) सन् २०३० मा १० प्रतिशत बाट २८ प्रतिशत बढ्ने अनुमान गरिएको छ । यदि मोटोपनलाई नियन्त्रण गर्न उचित कदम चालिएन भने सन् २०३० सम्ममा अधिक तौल र मोटोपनका कारण हुने वार्षिक खर्च तीन ट्रिलियन अमेरिकी डलर पुग्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुमान छ । 

मोटोपन जटिल दीर्घरोग समस्या हो । शरीरमा अत्यधिक बोसो जम्मा भएमा मोटोपन भएको मानिन्छ । उचाइभन्दा तौल बढी भएका त्यास्तो अवस्थालाई मोटोपन भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बडी मास इन्डेक्स (बिएमआई) ३० भन्दा बढी भएमा मोटोपन भएको मानिन्छ । यसले उचाइअनुसार तौल ठिक भए नभएको जाँच गर्छ । 

मोटोपनले टाइप टु मधुमेह र मुटुको रोगको जोखिम बढाउनुका साथै, हड्डीको स्वास्थ्य, क्यान्सर र प्रजनन क्षमतामा कमी ल्याउने समस्या निम्त्याउने गर्छ । 

सहरीकरण, अत्यधिक चिल्लो, चिनी, कार्बोहाइड्रेटयुक्त खाना, अस्वस्थ जीवनशैलीको कारणले मोटोपन तीव्र गतिमा बढ्दै गएको छ । 

गम्भीर रोग, कुनै रोगविरुद्धको औषधीको सेवनको कारणले गर्दा पनि मोटोपन बढ्ने गर्दछ । त्यो बाहेक शारीरिक निष्क्रियता, आनुवंशिक कारणले गर्दा मोटोपन बढ्ने गर्छ ।  

मोटोपनले  मुटुरोग, मधुमेह, पक्षघात, क्यान्सर, मस्तिकघात, टाइप टु मधुमेह, मानसिक समस्या, उच्चरक्तचाप जस्ता दीर्घ स्वास्थ्य समस्या निम्तिन सक्छ ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर