एमालेपछि बालेनले राप्रपालाई पनि पठाए १ लाख जरिवानाको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र फोहोर गरेको आरोपमा यसअघि सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई महानगरले जरिवाना तोकेको थियो । एमालेले काठमाडौं दरबारमार्गमा गरेको कार्यक्रममा सडक फोहोर गरेको महानगरको भनाई थियो ।
आज राजावादीहरुले विमानस्थल क्षेत्रको सडक फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवानासहितको पत्र राप्रपालाई पठाएको छ ।
काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयवाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु. एक लाख जरिवाना गरिएको’ उल्लेख छ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार काठमाडौँमा स्वागत गर्दै नाराजुलुस लगाएका थिए।
राप्रपाले सांसद ज्ञानेन्द्रबहादुर शाही, प्रवक्ता मोहन श्रेष्ठलगायतलाई ज्ञानेन्द्रको स्वागतका लागि विमानस्थल पठाएको थियो । अध्यक्ष राजेन्द्र लिङदेन भने स्वागतमा विमानस्थल गएनन् ।
प्रतिकृया दिनुहोस