• २०८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025

स्ववियु निर्वाचनका लागी देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता

काठमाडौँ । देशभरका अधिकांश क्याम्पसमा मंगलबार उत्साह र शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिले जनाएको छ । समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकाले भएको बताए । 

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रत्यक्ष र सामानुपातिक दुवैतर्फका उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको हो । ‘केही क्याम्पसमा विवाद र समस्या देखिएको छ । त्यसलाई पनि मिलाएर उम्मेदवारी दर्ताको प्रक्रियालाई अघि बढाउन समन्वय गरिरहेका छौं,’ उनले भने । सामान्य विवादबाहेक उत्साहपूर्ण रुपमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको दाबीरविरोध, बिहीबार उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन र चैत ५ गते स्ववियु निर्वाचन हुनेछ ।

काठमाडौं उपत्यका २२ मध्ये ५ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जनाए । उनकाअनुसार नेपाल ल, पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । शंकरदेव र आयुर्वेद क्याम्पसमा मतदाता संख्यामा विवाद देखिए पनि समाधान गरेर ढिला गरी प्रक्रिया थालिएको निर्वाचन समितिहरुले जनाएका छन् । शंकरदेवमा तालाबन्दीको कारण अनलाइन उम्मेदवारीको व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।

त्रिवि अर्न्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले आंगिकबाहेक सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको जनाएका छन् । आंगिकतर्फ धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियु र महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका उम्मेदवार स्ववियु अध्यक्षमा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । त्यो बाहेक ४० भन्दा बढी सामुदायिक र निजी क्याम्पसमा आफ्ना उम्मेदवार निर्विरोध बनेको विद्यार्थी संगठनहरुले दाबी गरेका छन् । यसअघि २०७९ मा पनि सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

निर्वाचनमा भाग लिन केन्द्रीय निर्वाचन समितिमा २५ विद्यार्थी संगठन दर्ता भएका छन् । देशभरका अधिकांश क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । केही क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धनसमेत गरेका छन् । विद्यार्थी संगठनहरुले भने केन्द्रबाट गठबन्धन गर्ने नीति नलिइको दाबी गर्दै स्थानीयस्तरमा तालमेल भएको हुन सक्ने जनाएका छन् ।

केन्द्रीय निर्वाचन समितिकाअनुसार सिराहा, जनकपुर, भैरवहाका केही आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता अवरुद्ध बनेको छ । कोशी, सुदूरपश्चिम, गण्डकी प्रदेशका क्याम्पसहरुमा बिनाविवाद उम्मेदवारी दर्ता भएको छ । कर्णाली प्रदेशको सुर्खेत बहुमुखी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्याम्पसमा विवाद देखिएको छ । बागलुङका केही क्याम्पसमा समस्या देखिए पनि समाधान गर्दै उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको समितिले जनाएको छ ।

धेरै विद्यार्थी अध्ययरत रत्नराज्यलक्ष्मी (आरआर), त्रिचन्द्र, पाटन, नेपाल कमर्श, शंकरदेव, भक्तपुर बहुमुखी, पृथ्वीनारायण पोखरा, महेन्द्र मोरङ आदर्श विराटनगर, ठाकुराम बहुमुखी विरगन्ज, लगायत क्याम्पसमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रहेको निर्वाचन समितिका पदाधिकारीले बताए । मंगलबार उम्मेदवारी दर्ता हुन नसकेका क्याम्पसहरुले निर्वाचन समय तालिका बनाएर पुनः चुनावी प्रक्रिया अघि बढाउनुपर्ने सदस्यसचिव अधिकारीले बताए । ‘निर्वाचन स्थगित गर्न, रोक्न मिल्दैन,’ उनले भने, ‘विवाद र समस्या समाधान गरेर पुनः प्रक्रिया अघि बढाउनुपर्छ ।’

त्रिविले जारी गरेको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७१ मा तोकिएको मितिमा निर्वाचन हुन नसके १५ दिनभित्र अर्को मिति तोकेर निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर