दुर्गा प्रसाईं जस्ताले सामाजिक सञ्जाल दुरुपयोग गरे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानुनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको विकाससँग अघि बढ्नुपर्ने र पुराना ऐन कानून परिमार्जन हुने जानकारी दिए ।
प्रविधिको विकाससँगै टेलिकम क्षेत्रको विकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनको भनाई छ ।
मन्त्री गुरुङले आफू मन्त्री भएपनि प्रविधिको क्षेत्रमा विकास गर्न खोजे पनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गरे ।
उनले विधेयकहरु लामो समय अड्किदा समयमा नै कानुन निर्माण हुन नसकेकाले संसदले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनु पर्नेमा जोड दिए ।
विधेयक पास गर्न ५–६ वर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक विकासका लागि अत्यावश्यक कानून बनाउन अध्यादेश ल्याउनुपरेको उनले बताए ।
मन्त्री गुरुङले समाजलाई विभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल विधेयक आवश्यक परेको धारणा राखे ।
उनले दुर्गा प्रसाई जस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप समेत लगाए ।
उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भइ संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबैको छलफल र सुझावपछि सदनमा पेश गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस