नेपालमा अमेरिकी अनुदानका साढे ४५ अर्बका ३४ कार्यक्रम रद्द

काठमाडौँ । नेपालमा अमेरिकी अनुदानमा सञ्चालित ३४ कार्यक्रम खारेज भएका छन् । यससँगै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत नेपालमा सञ्चालित ३२ करोड ४९ लाख २९ हजार ५ सय १६ अमेरिकी डलर का यी कार्यक्रम खारेज भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन् ।
अमेरिकी स्वार्थविपरीत दसौं अर्ब डलर खर्च हुने गरेकाले कार्यक्रम रद्द गरिएको रुबियोले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । ६ सातामा वैदेशिक सहायता कार्यक्रमको समीक्षा पूरा भएको र विश्वभरका ६ हजार २ सयमध्ये ५ हजार २ सय कार्यक्रम रद्द गरिएको उनको भनाइ छ । तर बाँकी एक हजार कार्यक्रमबारे अझै पनि समीक्षा हुने वा नहुने विषय प्रस्ट छैन ।
‘हाल रद्द गरिएका ५ हजार २ सय सम्झौताबाट दसौं अर्ब डलर खर्च भयो, जसले अमेरिकाको मुख्य राष्ट्रिय हितलाई सेवा गरेनन्’ विदेशमन्त्री रुबियोले लेखेका छन् । विदेश मन्त्रालयले रद्द गरेका ५ हजार २ सय कार्यक्रमका लागि भने यसअघि नै अमेरिकी कंग्रेसले बजेट विनियोजन गरेको थियो । बाँकी एक हजार सम्झौता विदेश मन्त्रालयद्वारा अझ प्रभावकारी रूपमा अनुगमन हुने रुबियोको भनाइ छ । त्यसका लागि कंग्रेससँग परामर्श गरिने उनले जनाएका छन् ।
नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत एमसीए नेपाल परियोजना सञ्चालनमा छ । तर अहिले यो कार्यक्रम भने स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस