साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो।
क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् ।
क्षेत्रीलाई वर्ष २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो ।
उनको ‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयको प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् ।
लीलबहादुर क्षेत्री सन् १९३३ मार्च १ मा भारतको आसामको गुवाहटीमा जन्मेका र त्यहीँ नै रहेर नेपाली साहित्यको साधनामा लागेका व्यक्ति हुन् ।
अर्थशास्त्रमा स्नातकोत्तर र त्यसै विषयका प्राध्यापक भए पनि उनले नेपाली साहित्य सिर्जनामा नै योगदान दिए । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ शीर्षकको कविता प्रकाशित गरेर साहित्ययात्राको औपचारिक यात्रा आरम्भ गरेका क्षेत्रीले विभिन्न विधामा कलम चलाएका थिए ।
उनका ‘बसाइँ’ (२०१४), ‘अतृप्त’ (२०२६), ‘ब्रह्मपुत्रको छेउछाउ’ (२०४३) र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ (२०६१ उपन्यास) ‘तीन दशक बीस अभिव्यक्ति’ (सन् १९८३) र ‘लीलबहादुर क्षेत्रीका कथाहरू’ (सन् १९९७) कथासङ्ग्रह ‘दोबाटो’ (सन् १९६७) नाटक तथा विभिन्न पत्रपत्रिकामा एकाङ्की नाटक र निबन्धहरू प्रकाशित भएका थिए ।
‘बसाइँ’ सामाजिक विषयवस्तुमा आधारित उपन्यास हो । लीलबहादुर क्षेत्रीका उपन्यास मूलतः सामाजिक विषयवस्तुमा आधारित छन् ।
प्रतिकृया दिनुहोस