• २०८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025

नेपाल प्रहरीकाे महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) थापालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख थिए । 

वसन्त कुँवरले सोमबारै अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । २०७९ चैत १० गते कुँवर नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका थिए । उनी ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कुँवरलाई सोमबार साँझ नै गृह मन्त्रालयले बिदाइसमेत गरिसकेको छ । उनकै ब्याचमेटहरू एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा जानेछन् । भट्टराई गत फागुन १३ मा मात्र एआईजी बनेका हुन् । त्यस्तै डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाएका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यस्तै उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।

नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा थिए ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ । ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापा गिरी र तामाङभन्दा अगाडि थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर