दलितको घरमा डाेजर लगाउने अभियुक्त धरौटीमा छुट्दा विजय उत्सव

जनकपुरधाम । औरही गाउँपालिका–५ मा महायज्ञका नाममा अछुत भन्दै दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटेपछि विजय उत्सव मनाएका छन् । जिल्ला अदालतबाट धरौटीमा रिहा भएका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवले विजय उत्सवको झल्को दिने गरी शुक्रबार र्याली गरेका हुन् ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा गत चैत ९ गते पक्राउ परेका उनीहरूलाई सिरहा जिल्ला अदालतले शुक्रबार जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश विदुर काफ्लेको इजलासले थुनछेक बसहपछि यस्तो आदेश दिएको हो ।
अदालतमा धरौटी बुझाएर रिहा हुनु भनेको लागेको मुद्दाबाट मुक्ति पाउनु होइन । अभियुक्त मुद्दा किनारा नलागेसम्म कानुनी प्रक्रियामा बोलाइएको बखत अदालतमा हाजिर हुने कुराको सुनिश्चित गर्नका लागि धरौटी लिइन्छ । अदालतले बोलाएको समयमा अभियुक्ति उपस्थित नभएको खण्डमा धरौटी जफत नै हुन्छ ।
तर, अदालतमा धरौटी बुझाई रिहा भएका उनीहरूले शुक्रबार अपरान्ह औरही–४ स्थित गणेशपुर चोकबाट चारपांग्रे गाडीमा उभिएर अगाडि–पछाडि मोटरसाइकलमा कार्यकर्ताको लस्करसहित विभिन्न भागमा परिक्रमा गर्दै र्याली गरे । यसले कानुनी राज्यलाई जिस्क्याउने र पीडितलाई थप पीडा दिने काम भएको भन्दै स्थानीय अगुवाले आपत्ति जनाएका छन् । ‘उनीहरू अहिले पनि अभियुक्त हुन्, सफाइ पाएका होइनन् । सफाइ पाए पनि कानुनी राज्यमा यस्तो गर्न मिल्दैन,’ पूर्वसांसदसमेत रहेका औरहीका सुरेशचन्द्र दासले भने, ‘तर, उनीहरूले अहंकार र उन्माद देखाए ।’
यो घटनासम्बन्धी मुद्दा टुंग्याउन सरकारी निकायले अस्वाभाविक सक्रियता देखाएको थियो । हिरासतमा रहेका दुवै जनालाई उन्मुक्ति दिन प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मको सक्रियता अस्वाभाविक देखिएको छ । चैत १० जाहेरी दर्ता भएको मुद्दाको बिहीबार मात्रै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अन्य मुद्दाको प्रतिवेदन अध्ययनमै कम्तीमा दुई/तीन दिनसम्म लगाउने सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन आएको भोलिपल्टै शुक्रबार अदालतमा अभियोग पत्र दर्ता गराएको हो ।
प्रतिकृया दिनुहोस